
एउटा न्यायप्रेमी राजा थियो । उसको सुन्दर र ठूलो रक्त चन्दनको बगैंचा थियो ।
एकदिन जङ्गलमा सिकारको पछि लाग्दा रात पर्यो र अँध्यारोमा घना जङ्गलबाट निस्किने बाटो छिचल्न सकिएन । एकछिन यताउता दौडधुप गर्दागर्दै राजा र मन्त्रीले एउटा भिल्लको झुपडी देखेर त्यसैमा त्यो रात आश्रय लिने विचार गरे ।
भिल्लले उनीहरूलाई बडो स्नेहपूर्वक आदर सत्कार गर्यो र जो भएका फलफूल र खानेकुरा टक्रायो । उनीहरूले सुखपूर्वक रात बिताए ।
बिहान बिदाहुने बेलामा राजाले भिल्लको जीविका कसरी चलिरहेको छ जान्न खोज्यो । भिल्लले दिनहुँ काठबाट गोल (कोइला) बनाई बजारमा बेचेर आफ्नो गुजारा चलिरहेको बतायो ।
भिल्लसङ्ग निकै खुसी भएको राजाले भन्यो – अब तिम्रा दुखका दिन सकिए । आजदेखि म आफ्नो चन्दनको बगैंचा तिमीलाई दिन्छु । त्यहाँ तिमीले निकै सुखी र सम्पन्न जिन्दगी बिताउने छौ । मसङ्गै हिँड ।
भिल्लको परिवार खुसीखुशी राजासङ्गै लागेर गयो र चन्दनको बगैंचामा छाप्रो बनाएर रहन थाल्यो ।
राजकाजमा ब्यस्त राजाले भिल्ललाई बिर्स्यो र झण्डै १ वर्षपछि सम्झिएर उसको हालचाल बुझ्न गयो । उसले चन्दनको काठले भिल्ल अब निकै सम्पन्न जीवन बिताइरहेको होला भन्ने अन्दाज गर्दैथियो ।
राजा त्यहाँ पुग्दा चन्दनको त्यत्रो बगैंचा उजाड भएको देख्यो । त्यहाँको दृश्यले राजा निकै दुखी भयो । वर्षौंको मेहनतले हुर्काइएको करोडौँ मूल्य पर्ने त्यत्रो बगैंचा यति छिट्टै बिमाख पारिनु नै राजालाई क्षोभ र आश्चर्यको कुरा थियो ।
भिल्लले भन्यो – महाराज ! हजुरलाई लाखलाख धन्यवाद छ कि हजुरले मलाई यति सजिलो ठाउँमा ल्याइदिनु भयो । पहिले मलाई जङ्गल जङ्गल डुलेर काठ खोज्नु पर्थ्यो । तर अहिले जति पनि काठ यहीँ अगाडि छ, चाहिए जति काट्यो कोइला बनायो र बेच्यो । बरु यहाँका रुख सिद्धिन थालेकोले अर्को पनि यस्तै बगैंचा दिनुभए मेरो कल्याण हुँदो हो !
अर्थात् बहुमूल्य रक्तचन्दनलाई बालेर उसले सुका-मोहरको गोल (कोइला) बनाएर सिध्याएको रहेछ । कौडीमा पनि मिल्किन्छ भिल्लको देशमा मणि !
धिक्कार !!
लोकदृश्य
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
















