लमजुङ । वर्तमान समाजले भुल्दै गएको साइनो–सम्वन्ध हो, मितेरी । अहिलेका पुस्तासँग धेरैका ‘मीत’ र ‘मीतिनी’ छैनन् । दुई फरक भूगोल, फरक परिवेश, फरक पृष्ठभूमि, फरक संस्कृति, फरक समाज, फरक परिवार र फरक व्यक्तिलाई सम्बन्धको रुपमा जोड्ने सेतु हो, मीतेरी सम्बन्ध ।
हराउँदै गएको मौलिक मितेरी सम्बन्धलाई जोगाउन भारतको असम र लमजुङका साहित्यकार तथा संस्कृतिकर्मीहरुले अभियान थाल्नुभएको छ । मितेरी सम्बन्धले घनिष्ठ मित्र मात्र बनाउँदैन, एउटै ओछ्यानमा सुत्ने सानिध्य प्राप्त गराउँछ । यसले परस्पर दुई समुदाय, समाजबीच मित्रवत सम्बन्ध स्थापित गराउने भएको यसको जगेर्ना गर्न आवश्यक रहेको संस्कृतिकर्मीहरुले बताउनुभएको छ ।
यस्तो मौलिक नेपाली संस्कृतिको जगेर्ना गर्न भारतको असामबाट आउनुभएका र लमजुङका तेह्रजना संस्कृति तथा साहित्यकर्मी जोडीले मीत मीतिनी लगाउनुभयो । ठाडोभाका लोककला प्रतिष्ठानको निमन्त्रणामा नेपाली संस्कृति सुरक्षा परिषद असम भारतका तेह्रजना संस्कृतिकर्मीहरु लमजुङ आउनुभएको हो ।
सामाजिक सदभाव र भाइचाराको सम्बन्ध स्थापित गर्ने सेतुको रुपमा रहेको मीतेरी सम्बन्ध जोगाउन लोकसंस्कृती एवम् लोक साहित्यिक पर्यटन मितेरी पदयात्रामा लमजुङ आएको नेपाली संस्कृति सुरक्षा परिषद असमका अध्यक्ष एलवि प्रधानले बताउनुभयो ।
पौराणिक ग्रन्थहरूमा मित्रताका उदाहरण थुप्रै छन् । तीमध्ये पनि राम र सुग्रीवको मित्रता, कर्ण र दुर्योधनको मित्रता, कृष्ण र सुदामाको मित्रता, मित्र र वरुण दुई दाजुभाइको मित्रता निकै आदर्शयुक्त देखिन्छन् । “यिनीहरूको मित्रताले मित्रताको वास्तविक अर्थ र कर्तव्य राम्ररी ज्ञात हुन्छ”, प्रधानले भन्नुभयो ।
मित्रताको सम्बन्धलाई बलियो गरी कस्ने नेपाली संस्कारको रुपमा रहेको मीत लाउने चलनलाई बचाउनुपर्ने ठाडोभाका लोककला प्रतिष्ठान लमजुङका अध्यक्ष नवराज पहाडी बताउनुहुन्छ । “मित लगाउनु मित्रताको सम्बन्धलाई बलियो एवं दिगो बनाउने प्रयास हो । मीतेरी साइनो गाँस्न अनुहारको रूपरंग, जातधर्म, वेशभुषा, उमेर आदिले बाधा बनाउँदैन्”, पहाडीले भन्नुभयो, “त्यसैले मीत मनको सम्बन्ध हो, सामाजिक व्यवहारको सम्बन्ध हो, जीवन अगाडि बढाउने र मिठास बाँड्ने सम्बन्ध हो ।”
लोकदृश्य
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link

















