लमजुङ । कुनै बेला मेलापात वा गोठालो जाँदा मनको बह पोख्न पात बजाउने चलन थियो । पछिल्लो समय सूचना प्रविधिको विकाससँगै सबैका हातहातमा मोबाइल भएपछि पात बजाउने चलन हरायो । पछिल्लो समय लमजुङमा पात बजाउने प्रतियोगिता नै सञ्चालन गरेर यस्तो कलाको संरक्षण अभियान थालिएको छ । प्रतियोगिता हेर्न पुगेका बुढापाका आफ्नो विगत सम्झिएर रमाएका छन् ।
लमजुङका पहाडी गाउँ वस्तीहरूमा पहिले पहिले पात बजाएका स्वरहरू सुन्न र देख्न पाइन्थ्यो । तर प्रविधिको बढ्दो प्रयोगले अहिले बन जङ्गलमा पात बजाउनेहरू भेटिँदैनन् । कुनै बेला साथीभाइसँग गोठालो जाँदा पातका माध्यमबाटै कुराकानी गर्नेदेखि पात बजाएरै एक अर्कालाई आकर्षण गर्नेसम्मका काम हुने गर्दथे ।
ठाडोभाका लोककला प्रतिष्ठान नेपालका अध्यक्ष नवराज पहाडीले जगंल गएका बेला विभिन्न रुखका पातहरू मुखमा राखेर बजाउने र एक अर्कालाई भेट गराउने माध्यम हराउन थालेको बताउनुभयो । लोप हँदै गएको यस्तो कलाको संरक्षणमा प्रतिष्ठान लागिपरेको उहाँले बताउनुभयो ।
आत्मीयता र सांगीतिक भाकासँग जोडिएका यस्ता पुराना प्रचलन नयाँ पुस्तासम्म पु¥याउन सके मौलिकता जोगिने प्रतिष्ठानका संरक्षक बुद्धिमान दुरा ‘धम्पु’ ले बताउनुभयो । पात बजाउने प्रतियोगिता हेर्न नेपाली संस्कृति सुरक्षा परिषद, आसाम भारतका साहित्यकारहरु समेत आउनुभएको थियो ।
नेपाली संस्कृति सुरक्षा परिषद, आसामका महासचिव वीरेन्द्र राणाले यस्तो कला जीवनमा पहिलो पटक देखेको बताउनुभयो । “पात बजाएर दुरुस्त गीतको लबज निकाल्न सक्ने कला देखेर हामी त सबै छक्क प¥यौं”, राणाले भन्नुभयो, “यस्तो जिवन्त कला बचाउन राज्यले ध्यान दिनुपर्छ ।” उहाँले यस्तो कला आसाम पनि सिकाउने प्रयास गर्ने बताउनुभयो ।
सत्रजन प्रतियोगिले भाग लिएको प्रतियोगितामा दोर्दी गाउँपालिका– ८ दुवारकी सुकमाया मिजार पहिलो हुनुभयो । मध्यनेपाल नगरपालिका– २ तान्द्राङटक्सारकी देवी गिरी दोस्रो र मध्यनेपाल नगरपालिका–१ जिताका सन्तोष भुजेल तेस्रो हुनुभएको निर्णायक समितिका संयोजक देवराज गुरुङले बताउनुभयो । त्यस्तै, सान्त्वनातर्फ मध्यनेपाल नगरपालिका– २ तान्द्राङटक्सारका पार्वती नेपाली र मधुकर गिरी हुनुभयो ।
पहिलो हुनेलाई सात हजार रुपैयाँ, दोस्रोलाई पाँच हजार रुपैयाँ, तेस्रोलाई तीन हजार रुपैयाँ र सान्त्वना स्थान हासिल गर्ने दुई जनालाई जनही २÷२ हजार रुपैयाँ पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो ।
लोकदृश्य
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link

















