भूतपूर्व गोर्खाहरुको मागको बारेमा बेलायत र नेपाल सरकारबीचको वार्ता मिति टुंगो लागेको छ । बेलायत र नेपाल सरकारबीच हुने वार्ताको ‘टर्म्स अफ रिफरेन्स’ (टिओआर) बैठकको मिति आगामी अगष्ट २२ का दिन तय भएको लन्डनस्थित नेपाली दूतावासले जनाएको छ । दूतावासमा हुने उक्त बैठकमा बेलायती रक्षा मन्त्रालय, लन्डनस्थित नेपाली दूतावास र पूर्व गोर्खाहरुका प्रतिनिधि समेतको सहभागिता रहनेछ।
विभिन्न कारणले गर्दा वार्तामा ढिलाई भइरहेको भन्दै गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका तर्फबाट पटक पटक चेतावनी दिइँदै आएको थियो । वार्ता मिति तय भएसँगै आफ्ना मागहरुको सुनुवाई प्रक्रिया अघि बढ्नेमा भुपू गोर्खाहरु आशावादी बनेका छन् ।
भुपू गोर्खा वार्ताका लागि नेपाल सरकारको तर्फबाट संयोजक रहेका बेलायतस्थित नेपाली राजदूत ज्ञानचन्द्र आचार्य र बेलायती सरकारका तर्फबाट वार्ता टोलीको संयोजक तोकिएका मन्त्री लिओ डोकर्टीबीच लण्डनस्थित नेपाली दूतावासमा वार्ताको लागि यसअघि नै छलफल भएपनि प्रक्रियामा ढिलाई भैरहेको थियो ।
अगष्ट २२ को बैठकबाट नै वार्ताको ‘टिओआर’ लाई अन्तिम रुप दिने प्रयास गरिने र सम्भव नभएमा पुनः अर्को बैठकले टुंगो लगाइने दूतावासकी प्रवक्ता एवम् उपनियोग प्रमुख रोशन खनालले जानकारी दिइन् । सेप्टेम्बरभित्र वार्ता सुरु गरिने र सन् २०२३ को जनवरीसम्ममा निष्कर्षमा पुर्याउने लक्ष्य रहेको दूतावासले जनाएको छ ।
बेलायत र नेपाल सरकारबीच वार्ता हुने वार्तामा गोर्खाहरुको पनि प्रतिनिधित्व रहनेछ । वार्तामा गोर्खाहरुको प्रतिनिधित्व गर्दै मेजर जुद्धबहादुर गुरुङको सहभागिता रहनेछ ।
लोकदृश्य
-
लोकदृश्य#molongui-disabled-link
-
लोकदृश्य#molongui-disabled-link
-
लोकदृश्य#molongui-disabled-link
-
लोकदृश्य#molongui-disabled-link