लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिकाले आधारभूत तहमा अध्यापनका लागि स्थानीय पाठ्यपुस्तक निर्माण गरेको छ । कक्षा १ देखि ८ सम्मका विद्यार्थीका लागि गाउँपालिकाले ‘हाम्रो मस्र्याङ्दी’ नामक पाठ्यपुस्तक निर्माण गरेको हो ।
उक्त पाठ्यपुस्तक गाउँपालिकामा शनिबार आयोजित २१ औँ गाउँसभामा विमोचन गरिएको छ । गाउँपालिका अध्यक्ष अर्जुन गुरुङ, उपाध्यक्ष जुनामाया थापा, प्रमुख प्रशासकीय अधिकृत विज्ञान पौडेल र सामाजिक विकास समिति संयोजक एवम् वडा ७ का वडाअध्यक्ष तिलबहादुर गुरुङलले संयुक्त रुपमा पाठ्यपुस्तक सार्वजनिक गर्नुभएको हो । चालु शैक्षिक सत्रदेखि पठनपाठन सुरु गरिएको उक्त पाठ्य पुस्तकमा स्थानीय इतिहास, भूगोल, संस्कृति, प्राकृतिक सम्पदा, पर्यटन, आर्थिक गतिविधि, स्थानीय पेशा–व्यवसाय, यातायात तथा भौतिक पूर्वाधार, जीवनोपयोगी सीप, मानव मूल्यमा आधारित शिक्षा, स्थानीय परिकार र समसामयिक विषय समावेश गरिएको गाउँपालिका अध्यक्ष गुरुङले बताउनुभयो ।
गाउँपालिकाले ४ वर्षअघि स्थानीय पाठ्यक्रम तयार गरी कक्षा १ देखि ५ सम्म पठनपाठन सुरु गरेको थियो । चालु शैक्षिक वर्षदेखि कक्षा ८ सम्म स्थानीय पाठ्यक्रम विस्तार गर्दै त्यसअनुसारको पाठ्यपुस्तक तयार गरिएको अध्यक्ष गुरुङले बताउनुभयो । गाउँपालिकाभित्रका ५५ वटा विद्यालयमा ‘हाम्रो मस्र्याङ्दी’ पठनपाठन भइरहेको उहाँले बताउनुभयो ।
पाठ्यपुस्तकमा गाउँपालिकाको इतिहास, भूगोल, पर्यटकीय तथा धार्मिक स्थल, संस्कृति, रहनसहन, भेषभूषा, विशिष्ट व्यक्तित्व, कृषि, वन पैदावार, जडीबुटी, खनिज पदार्थ, प्राकृतिक स्रोत, पशुपालन तथा स्थानीय कला–संस्कृतिसम्बन्धी विषय समेटिएका छन् । यसले विद्यार्थीलाई आफ्नै गाउँ, समाज र परिवेशबारे जानकारी र व्यवहारिक ज्ञान दिने गाउँपालिकाका उपाध्यक्ष जुनामाया थापाले बताउनुभयो ।
भूमिदत्त पौडेल र ऋषिराम उपाध्यायको लेखन संयोजनमा तयार भएको पुस्तकको सम्पादन ऋषिराम श्रेष्ठ, इश्वरबाबु पाण्डेलगायतले गरेका गर्नुभएको प्रमुख प्रशासकीय अधिकृत विज्ञान पौडेलले जानकारी दिनुभयो । पौडेलका अनुसार गहिरो अध्ययन, छलफल र सुझावका आधारमा स्थानीय पाठ्यक्रमको मापदण्डअनुसार पुस्तक तयार गरिएको थियो । सामाजिक विकास समिति संयोजक तिलबहादुर गुरुङले पुस्तकले स्थानीय ज्ञान, पहिचान र गौरवलाई विद्यालय शिक्षासँग जोड्ने बताउनुभयो ।
- Nabin Kuikelhttps://lokdrishya.com/author/newsdesk/
- Nabin Kuikelhttps://lokdrishya.com/author/newsdesk/
- Nabin Kuikelhttps://lokdrishya.com/author/newsdesk/
- Nabin Kuikelhttps://lokdrishya.com/author/newsdesk/
















