लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिका–९ का विश्वनाथ सुवेदीले सात बर्षयता रैथाने जातको धान खेती गर्न छाड्नुभएको छ । उहाँले पहिले रोप्ने एक्ले, मन्सारा, सुनौलो सुगन्ध, विरमफुल, जेठोबुढो लगायतका हुन् । उहाँले भन्नुभयो, “पहिले–पहिले घर गाउँकै धान रोपिन्थ्यो । यसमा दुःख बढी, उत्पादन कम भयो । अहिले उन्नततर्फ लागियो ।” उहाँका अनुसार छिटो फल्ने र धेरै उत्पादन दिने भएपछि किसानहरु नयाँ नयाँ जाततर्फ आकर्षित भएका छन् ।
बेसीशहर नगरपालिका–६ गोताङथोककी दुर्गा बोहोराले पनि रैथाने छोडेर उन्नत तथा वर्णशंकर जातको धान खेती गर्दै आउनुभएको छ । उहाँले भन्नुभयो, “गाउँमा सबैले उन्नत जातकै धान रोप्छन । पुरानो धानको त विउ नै पाइन छाड्यो ।” उहाँका अनुसार पुरानो भनेको अनादी धान मात्रै छ । मध्यनेपाल नगरपालिका–६ कि छलिमाया दुराले नयाँ जातका धान आएपछि पुराना हराएको बताउनुभयो । उहाँले भन्नुभयो, “पहिला पहिला पानी लाग्ने र नलाग्ने ठाउँमा फरक फरक धान लगाइन्थ्यो । एक्ले, मनसुली, मन्सरा, आँगालगायतका थुप्रै धान थिए । आजभोली नयाँ आए, पुराना हराए ।”
राइनास नगरपालिकास्थित धमिलिकुवाका किसान कृष्णराज पाण्डेले राइनासटारका फाँटभरि उन्नत तथा वर्णशंकर जातका धान खेती गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “यहाँ त नहर चल्छ । दुई खेती धान हुने भएकाले सबैले हाइब्रिड नै लगाउँछन ।” आफूलाई खानभन्दा अरूलाई बेच्नका लागि खेती गरिएकाले व्यावसायिक किसानहरू हाइब्रिड जातका धान खेतीमा आकर्षित भएको उहाँले बताउनुभयो । किसानहरूले रामधान, पृथ्वी, तारालगायत रोप्ने गरेको उहाँले बताउनुभयो ।
मस्र्याङ्दी–९ का ८३ बर्षिया ८३ वर्षिय उमाकान्त गौतमले नयाँ जात भित्रिएपछि पुरानो स्वाद हराएको बताउनुभयो । उहाँले भन्नुभयो, “धान मात्रै धेरै फलेर क्यार्नु । स्वादै छै्रन । पुराना जातका धान मगमग बसाउँथे । भात पनि नरम, मिठो हुन्थ्यो । अहिलेका धानका चामलमा न स्वाद न बास्ना ।”
कृषि विकास कार्यालय लमजुङका अनुसार लमजुङमा १६ हजार ४ सय ६३ हेक्टरमा धानखेती हुँदै आएको छ । १५ हजार ५ सय ५२ हेक्टरमा बर्खे धान हुन्छ । ९० प्रतिशत भन्दा बढीमा उन्नत जातको धान खेती हुँदै आएको कृषि विज्ञ मदन रेग्मीले बताउनुभयो । कार्यालयको तथ्यांकअनुसार उन्नत जातका रामधान, सावित्री, लोकतन्त्र, हर्दिनाथ, सुनौलो सुगन्ध, खुमल ४, सुक्खा १, २, ३, ४ जातका धन खेती गरिदै आएको छ । वर्णशंकरमा यूएस ३१२, शंकर, गोरखनाथ, चाँदनी र पृथ्वी जातका धान खेती गर्ने गरिएको छ । यस्तै, स्थानीय जातमा एक्ले, मन्सरा, मधेसे, अनादी, आँगा छन् ।
स्थानीय तहका कृषि शाखाले ५० देखि ७५ प्रतिशत अनुदानमा उन्नत जातको धानको विउ वितरण गर्ने गरेका छन् । यसबाहेक किसान आफैले पनि बजारबाट उन्नत र वर्णशंकर जातका धानको विउ किनेर रोप्ने गरेका छन् । किसानहरु उन्नत र बर्णशंकर जातका धान लगाउन थालेपनि कृषि विकास कार्यालय र स्थानीय तह भने रैथाने जातका धान जोगाउने अभियानका कार्यक्रम गरिरहेका छन् । कृषि विज्ञ रेग्मीले भन्नुभयो, “ब्यवसायिक खेती गर्नेलाई उन्नत जातका धान सिफारिस गरेपनि रैथाने जातहरु जोगाउन समुदायसँग मिलेर काम गरिरहेका छौं । विस्तारै रैथाने खेतीतर्फ पनि किसानहरु आकर्षित हुँदै गएका छन् ।”
- Nabin Kuikelhttps://lokdrishya.com/author/newsdesk/
- Nabin Kuikelhttps://lokdrishya.com/author/newsdesk/
- Nabin Kuikelhttps://lokdrishya.com/author/newsdesk/
- Nabin Kuikelhttps://lokdrishya.com/author/newsdesk/
















