लमजुङ । लमजुङको दुई गाउँपालिकाले जलविद्युत आयोजनाबाट प्राप्त रोयल्टीलाई लोक कल्याणकारी काममा खर्च गर्नेगरी बजेट ल्याएका छन् । जलविद्युत आयोजनाबाट प्राप्त रोयल्टीबाट दोर्दी गाउँपालिकाले स्वास्थ्य बीमा र मस्र्याङ्दी गाउँपालिकाले ५० युनिट विद्युत निःशुल्क दिने कार्यक्रमसहित बजेट ल्याएका हुन् ।
दोर्दी गाउँपालिकाले जलविद्युत आयोजनाबाट प्राप्त रोयल्टीबाट सबै नागरिकको स्वास्थ्य बीमा गरिदिने भएको हो । दोर्दी गाउँपालिका अध्यक्ष युवराज अधिकारीले आघिल्लो आर्थिक वर्ष २०८२÷०८३ मा कार्यन्वयनमा ल्याइएको गाउँपालिकाका सबै नागरिकको निःशुल्क स्वास्थ्य बीमा गर्ने नीति तथा कार्यक्रमलाई यस वर्षपछि निरन्तरता दिइएको बताउनुभयो ।
दोर्दी गाउँपालिकामै चुल्हो बालि स्थायी रूपमा बसोबास गरिरहेका सवै घरपरिवारको स्वास्थ्य बीमा गरिदिने अध्यक्ष अधिकारीले बताउनुभयो । उहाँका अनुसार दोर्दीमा सञ्चालित जलविद्युत आयोजनाबाट प्राप्त रोयल्टीबाट निःशुल्क स्वास्थ्य बीमा गरिर्दै आइएको छ । यसका लागि ‘जलविद्युतको आम्दानी–स्वास्थ्य बीमामा लगानी’ नारा तय गरिएको छ । दोर्दी गाउँपालिकामा हाल पाँचवटा आयोजनाबाट एकसय २६ मेगावाट विद्युत उत्पादन हुँदै आएको छ ।
दोर्दी गाउँपालिकाभित्र चार हजार दुई सय २५ घरपरिवार रहेको र सवै घरपरिवारलाई निःशुल्क स्वास्थ्य बीमा गर्न १ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएको गाउँपालिका उपाध्यक्ष विच्छबहादुर घलेले बताउनुभयो । १९ औं गाउँ अधिवेशन सभामा प्रस्तुत बजेटमा निःशुल्क स्वास्थ्य बीमा गर्दा परिवारमा ५ जना भन्दा बढी सदस्य भएमा थप रकम उपलब्ध गराएर बीमा गराइदिने ब्यवस्था गरिएको छ ।
यस्तै मस्र्याङ्दी गाउँपालिकाले आगामी आर्थिक वर्षदेखि लागुहुने गरि पालिकाबासीलाई ५० युनिट विद्युत निःशुल्क दिने कार्यक्रमसहित बजेट ल्याएको छ । ‘जलविद्युतको आम्दानी, उज्यालो मस्र्याङ्दीमा लगानी’ कार्यक्रमअन्तर्गत उपभोक्तालाई मासिक ५० युनिटसम्मको विद्युत् महसुल निःशुल्क दिने व्यवस्था गरिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले जानकारी दिनुभयो । प्रस्तावित व्यवस्थाअनुसार ५० युनिटसम्मको विद्युत् उपभोगको महसुल गाउँपालिकाले व्यहोर्नेछ । गाउँपालिकाका ९ वटै वडाका करिब ४ हजार ४ सय घरधुरी यस योजनाबाट प्रत्यक्ष लाभान्वित हुनेछन् । यस कार्यक्रम कार्यान्वयनका लागि ५५ लाख रुपैयाँ बजेट ब्यवस्था गरिएको उपाध्यक्ष जुनामाया थापाले बताउनुभयो ।
गाउँपालिकाले आगामी आर्थिक वर्षमा विद्युत् रोयल्टीबाट करिब ४ करोड रुपैयाँ आम्दानी हुने प्रक्षेपण गरेको छ । सोही आम्दानीलाई स्थानीय जनताको हितमा उपयोग गर्दै जलविद्युतको प्रतिफल नागरिकसम्म पु¥याउने उद्देश्यले कार्यक्रम ल्याइएको अध्यक्ष गुरुङले बताउनुभयो । नेपाल विद्युत प्राधिकरण, लमजुङ वितरण केन्द्रका अनुसार मस्र्याङ्दी गाउँपालिकाका करिब ४ हजार २ सय ग्राहक मध्ये ९२ प्रतिशतले ५० युनिट भन्दा कम विद्युत उपयोग गर्ने गरेको तथ्याङ्क छ । गाउँपालिकाको यो कार्यक्रमबाट ९२ प्रतिशत घरधुरी पूर्ण रुपमा लाभान्वित हुनेछन् । १० प्रतिशत घरधुरीले पनि ५० युनिटसम्म विद्युत राहत पाउनेछन् । अध्यक्ष गुरुङले भन्नुभयो, “विद्युत महशुल निःशुल्क दिने ब्यवस्थाले उपभोक्तालाई दुईवटा फाइदा भएको छ । एक, महशुल तिर्न परेन, अर्को थोरै महशुल तिर्न सदरमुकाम पुग्नुपर्दा लाग्ने समय र खर्च बच्यो । यसले नागरिकलाई ठूलो राहत मिलेको छ ।”
मस्र्याङ्दी गाउँपालिकाभित्र ५० मेगावाट क्षमताको माथिल्लो मस्र्याङ्दी ‘ए’, ३० मेगावाटको न्यादी जलविद्युत् आयोजना सहित ८ वटा जलविद्युत् आयोजनाबाट करिब १ सय मेगावाट विद्युत् उत्पादन भइरहेको छ । १०२ मेगावाटको अपर मस्र्याङ्दी, बेंसीसहर नगरपालिकासँग जोडिने गरी ५० मेगावाटको मस्र्याङ्दी बेंसी, २६ मेगावाटको सुपरखुदीसहित ङादी करिडोरमा गरि २ सय ५० मेगावाटभन्दा बढी क्षमताका जलविद्युत् आयोजनाहरु निर्माणाधीन अवस्थामा छन् । उत्पादन बढेसँगै गाउँपालिकाको रोयल्टी आम्दानी पनि बढ्ने प्रमुख प्रशासकीय अधिकृत विज्ञान पौडेलले बताउनुभयो ।
- Nabin Kuikelhttps://lokdrishya.com/author/newsdesk/
- Nabin Kuikelhttps://lokdrishya.com/author/newsdesk/
- Nabin Kuikelhttps://lokdrishya.com/author/newsdesk/
- Nabin Kuikelhttps://lokdrishya.com/author/newsdesk/
















