लमजुङ । नेपाली चलचित्रमा अझै पनि आदिवासी र सीमान्तकृत समुदायको कथा अपेक्षाकृत रुपमा आउन नसकेको र स्वर दबाइने गरिएको गुनासो सरोकारवालाहरुले गर्नुभएको छ । यसको मुख्य जड, जातीयमात्र नभई वर्ग व्यवस्थाले पारेको प्रभाव भएको उहाँहरुको निश्कर्ष थियो ।
चलचित्र पत्रकार संघ नेपाल कास्कीले लमजुङको स्मार्ट गाउँ घलेगाउँमा आयोजना गरेको ‘सिनेमा संवाद’ कार्यक्रममा पहिलो सत्र थियो–सिनेमामा आदिवासी र सीमान्तकृतको स्वर । जसमा गफिनुभयो निर्देशक नवीन सुब्बा, विश्लेषक विश्वभक्त दुलाल (आहुति), कलाकार एवं निर्माता आशा मगराती र लेखक विकास सुवेदी । प्रस्तुतकर्ता हुनुहुन्थ्यो–पत्रकार दीपक परियार ।
निर्देशक नवीन सुब्बाले चलचित्र बनाउनेले पनि यसको संरचनासँग सम्झौता गर्ने गरेको टिप्पणी गर्नुभयो । उहाँले विषयवस्तुको तथ्यमा सचेत हुन सुझाव दिनुभयो । उहाँले नेपाली चलचित्र निर्माणमा जनरा भएपनि त्यसलाई सम्बोधन गर्न नसकिएको स्विकारर्नुभयो ।
विश्लेषक विश्वभक्त दुलाल आहूतिले वर्गीय उत्पीडनको पक्ष नेपाली चलचित्रमा अझै पनि कमजोर रुपमा प्रस्तुत भएको बताउनुभयो । उहाँले चलचित्रमा उत्पीडितको ज्ञानलाई अझै स्वीकार्य नगरिएको बताउनुयो । उहाँले भन्नुभयो, ‘चलचित्रहरुमा अझैपनि उत्पीडितहरु अज्ञानी, अशिक्षित हुन् भन्ने देखाइएको छ । उनीहरुको शिक्षालाई निर्देशकले स्वीकार्न तयार छैनन । महिला सम्पूर्ण परिवारको चालकको रुपमा भए पनि मूल योगदान छोप्ने काम भैरहेको छ ।’
कलाकार आशा मगरातीले आफू दलित समुदायको हुँदा सुरुका दिनमा जातकै कारण पछि परिन्छ कि भन्ने डर हुने गरेको स्मरण गर्नुभयो । तर, अहिले यो ठाउँमा आइपुगेर आवाज दिन पाउँदा निकै खुसी लागेको बताउनुभयो । उहाँले जबसम्म आफ्नो समुदायबाट आवाज निकाल्दैनौँ, तबसम्म आकिकारिक विषय नआउने बताउनुभयो ।
लेखक विकास सुवेदीले गाउँ ठाउँ घुमे मात्र कथा खोज्न सकिने बताउनुभयो । ‘प्रकाश’ चलचित्र पश्चिम नेपाल घुमेरै लेखेको बताउँदै उहाँले भन्नुभयो, ‘अब काठमाडौँको कोठाबाट कर्णालीको कथा लेख्न सकिँदैन । मैले देखेको कथामा कति तथ्य नजिक जाने निर्देशकको हातमा पनि हुन्छ ।’
सिनेमामा संगीत ः कति मौलिक, कति आधुनिक ? सत्रमा संगीतकार शम्भुजित बास्कोटा, बसन्त सापकोटा र प्रकाश सपुत गफिनुभयो । सो सत्रलाई रिमा विश्वकर्माले सहजीकरण गर्नुभयो । तीसको दशकदेखि गीतसंगीतमा रहनुभएका वरिष्ठ संगीतकार शम्भुजीत बास्कोटाले अहिलेका गीत संगीतमा प्याकेज बन्न छोडेको अनुभव सुनाउनुभयो । संगीतकार वसन्त सापकोटाले चलचित्रको विषयबस्तुसँग नजोडिएका गीत कालजयी हुन नसकेको बताउनुभयो । प्रकाश सपुतले कथा मौलिक भए संगीत पनि मौलिक बनाउन ध्यान दिनुपर्नेमा जोड दिनुयभो । चलचित्र विकास बोर्डको मापदण्डमा संगीतलाई नराखेको भन्दै उहाँले गुनासो गर्नुभयो ।
सिनेमा संवादको तेस्रो सत्र थियो, रिलदेखि एआईसम्म । उक्त सत्रमा हुनुहुन्थ्यो, सदाबहार अभिनेत्री करिष्मा मानन्धर । उहाँले टेक्नोलोजीमा धेरै फरक आएको स्मरण गर्दै विगत र वर्तमानको परिस्थितिबारे छलफल गर्नुभयो ।
उहाँको साथमा हुनुहुन्थ्यो–अहिलेका पुस्ताका कलाकार महेश त्रिपाठी तथा डिजाइनर एवं एनिमेटर अनिल न्यौपाने । सुव्रत न्यौपानेले गरेको सहजीकरणमा उहाँहरु गफिनुभयो । उहाँहरुले एआई प्रविधिले धेरै सहजता ल्याएको भन्दै समयअनुसार आत्मसात गर्नुपर्नेमा जोड दिनुभयो ।
सिनेमा संवादको अन्तिम सत्रमा हुनुहुन्थ्यो–चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी र चलचत्रि पत्रकार संघका केन्द्रीय अध्यक्ष समीर बलामी । रोमाञ्चक बनेको सो सत्रमा सहजकर्ता पत्रकार अमृत सुवेदीले नेपाली सिनेमाको विकास हुन नसक्नुमा नीति वा नियतबारे प्रश्न गर्नुभयो ।
बोर्ड अध्यक्ष डिसीले चलचित्र ऐन, फिल्म स्टूडियो, बक्स अफिस आफ्नो तत्कालको मिसन भएको बताउनुभयो । उहाँले २०२६ सालको चलचित्र ऐन विस्थापित गर्दै अब छिट्टै नै नयाँ चलचित्र ऐन आउने आश्वासन दिनुभयो । उहाँले आगामी वैशाखदेखि देशभरका हलहरुमा रियल बक्स अफिस हुने बताउनुभयो ।
चलचित्र पत्रकार संघ अध्यक्ष समीर बलामीले संघले समग्र नेपाली चलचित्र र चलचित्र पत्रकारको हितमा काम गर्दै आएको बताउनुभयो । तत्काल चलचित्र ऐन पारित हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।
लोकदृश्य
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
















