लमजुङ । बेसीसहर नगरपालिका–९ विम्दाबेसीकी प्रेमकुमारी गुरुङलाई कोदोको ढिंडो र रोटी मात्रै बन्छ भन्ने थाहा थियो । बेसीसहर–१० का सुजन रिमालले पनि फापरलाई ढिँडो र रोटी मात्रै बनाएर खानुहुन्थ्यो । जब, उहाँहरुले परिकार बनाउने तालिम पाउनुभयो, रैथाने बालीका पनि धेरै परिकार बनाएर खान सकिनेरैछ भन्ने थाहा पाउनुभयो ।
रैथाने बालीको धेरै परिकार बनाउन सकिने भएपनि परम्परागत तरिकाले मात्र यसको उपभोग हुँदै आएको छ । रैथाने बालीको परिकार बनाउने तालिमले धेरै परिकारहरु बनाउन सिकाएको बेसीसहर–३ काउलेपानी होमस्टेका सञ्चालक कुलबहादुर गुरुङले बताउनुभयो ।
“कोदो, मकै, फापर लगाएर त सँधै खान्थ्यौं नि”, कुलबहादुरले भन्नुभयो, “यी बस्तुबाट त धेरै परिकार पो बन्दो रहेछ । हामीले त परिकार बनाएर खानै जानेका रैनछौं । अब धेरै परिकार बनाएर खान्छौं र पाहुनालाई पनि खुवाउँछौं ।”
बेसीसहर–९ विम्दाबेसीकी प्रेमकुमारीले फापरको स्वादिलो चाउमिन बनाउन सकिने बताउनुभयो । “रैथाने बाली फपरको चाउमिन बनाउन सकिने रैछ, किन बजारको मैदाको चाउमिन खानुप¥र्यो र”, उहाँले भन्नुभयो, “घरमै फापरको चाउमिन, केक, ढोक्ला, परौठा जस्ता स्वादिला परिकार बनाउन जानेपछि खुसी लाग्यो ।”
वल्र्ड भिजन ईन्टरनेश्नल नेपाल र ग्रामिण सामुदायिक विाकास केन्द्रको साँझेदारीमा बेसीसहर नगरपालिका, सुन्दरबजार नगरपालिका र दोर्दी गाउँपालिकाका २४ जनालाई रैथाने बालीका परिकार बनाउने तालिम दिइएको थियो । उहाँहरुलाई रैथाने बालीबाट स्वादिला परिकारहरु बनाउन सिकाइएको ग्रामिण सामुदायिक विाकास केन्द्रका परियोजना संयोजक हेमराज विमलीले जानकारी दिनुभयो ।
स्थानीयलाई फापरको रोटी, ढोक्ला, परौठा, चाउमिन, कोदोको रोटी, प्यानकेक, मःमः, ढिंडो, मासको बारा, पकौडा, मनसुली चामलको खिर, पुलौ, गोलभेंडाको पिनेको अचार, कालो भट्टको साँधेको अचार जस्ता सामाग्री बनाउन सिकाइएको प्रशिक्षक बालेन्द्र चौधरीले बताउनुभयो ।
उहाँको अनुसार मकैको पुवा, कोदोको सुप, गुन्द्रुक आचार, सिस्नोको तरकारी, उसिनेको गहुँ फ्राई, गाँजर तथा फर्सीका हलुवा जस्ता धेरै परिकार बनाउन सकिन्छ ।
स्थानीय रैथाने वस्तुको परिकार स्वादिलो मात्र नभएर धेरै स्वस्थकर पनि हुने भएकाले यसको प्रबद्र्धन गर्न आवश्यक रहेको ग्रामिण सामुदायिक विाकास केन्द्रको कृषि अधिकृत आश्था पण्डितले बताउनुभयो ।
बजारमा उत्पादन भएका पत्रु खानेकुराहरु भन्दा रैथाने खानेकुरालाई नै जोड दिनुपर्छ भनेर समुदायमा एकीकृत पोषण तथा उत्थानशील जिविकोपार्जन कार्यक्रम सञ्चालन गरिएको वल्र्ड भिजन इन्टरनेश्नल नेपालका जिल्ला संयोजक शुक्रराज गुरुङले बताउनुभयो ।
लोकदृश्य
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
















