राणा शासन हल्लाउने त्यो ‘हलोक्रान्ति’

 विपक्ष
शेषकान्त लेप्टन, हरिभक्त तिघ्रे
तोयानाथ पण्डित हलो जोति बिग्रे
हलो जोत्ने हुन् तीन जना
अवदेखि खालान् पाथी बाह्र माना ।
पक्ष
ए नानी टपरी भक्त ! तिम्रा पूर्बजहरुको
होइन युग हो यौटा विकास र सुधारको ।

७३ वर्षअघि लमजुङका ब्राह्मणहरूले हलो जोतेपछि समाजमा यस्तै दोहोरी चले। राणाकालीन त्यो समय। ‘ब्राह्मणले हलो जोत्नु हुँदैन’ भन्ने मानसिकता थियो। तर, त्यही राणाकालीन समयमा नेपालकै इतिहासमा ब्राह्मणले हलो जोतेको घटना बोल्छ, लमजुङ सुन्दरबजार नगरपालिका–४ (साविक दुराडाँडा गाविस–६) अर्चल्यानीको बाटेगराले। 

राणाशासन फाल्न राजनीतिक मात्र होइन, सामाजिक आन्दोलनहरू पनि भए। त्यस्ता सामाजिक आन्दोलनमध्येको एक थियो, ‘हलोक्रान्ति’, जुन जातीय छुवाछूतविरुद्ध गरिएको थियो।

देशमा प्रजातन्त्रको उदय हुनुअघि २००६ साल साउन ११ गतेकै दिन लमजुङको दुराडाँडा अर्चल्यानीको बाटेगरामा ब्राह्मणले सामूहिक रूपमा हलो जोतेका थिए। यो क्रान्तिको नेतृत्व बडो सुझबुझका साथ पण्डित तोयानाथ अधिकारी, शेषकान्त अधिकारी, मुखिया हरिभक्त पौडेल र मुखिया हरिदासले २००४ सालदेखि नै गरेका थिए। तर, फागुन २००५ सालमा हरिदासको मृत्यु भएपछि यो अभियान केहीपछि धकेलियो।

अन्ततः ११ साउन २००६ सालमा शेषकान्त अधिकारीले आफ्नो खेतमा हलोको अनौ समातेर खेत जोतीछाडे। यो सुन्नासाथ चारैतिर ठूलो खैलाबैला सुरु भएछ। विस्तारै हलो जोत्ने ब्राह्मणको संख्या २७ जना पुगेको इतिहास छ। 

न पर्चा, न जुलुस, न त हड्ताल नै! हलो जोत्ने आन्दोलन सामाजिक क्रान्तिको रूपमा फैलन थाल्यो। बाहुनले हलो जोते भनेर कम्पन भयो। २००६ सालको पुसमा तनहुँ, २००७ साल वैशाखमा अर्घाखाँची, गोरखा र २००८ सालमा स्याङजा पनि हलो जोत्ने अभियानले तीव्ररूप लियो। कास्कीको बाटुलेचौरमा पण्डित मुक्तिनाथ तिमिल्सिनाको नेतृत्वमा ब्राह्मणकै एक समूहले बारी जोतेछन्। गोरखामा पूर्णप्रसाद ब्राह्मणहरूको नेतृत्वमा र धादिङ, केवलपुरमा देवीप्रसाद पौडेल दम्पती (केवलपुरे किसान), गैराघरेका दाजुभाइसहित ४ जनाले हलो जोतेछन्। हलोक्रान्तिमा सम्मिलित हरिदासका नाति रविकान्त अधिकारीअनुसार श्रीकान्त अधिकारीले तनहुँमा श्रीभद्र र उमाभद्र खनाल, कास्कीमा मीनबहादुर गुरुङ, अर्घाखाँचीमा काशीनाथ गौतम (हालको उपसभामुख पुष्पा भुसालको बुवा) र डडेलधुरामा भीमदत्त पन्तसम्म छलफल गरी हलोक्रान्ति अभियान सञ्चालन गरेका थिए। 

ब्राह्मणले पहिलोपटक हलो जोतेर क्रान्तिकारी काम गरेका थिए त्यतिबेला। त्यही सम्झनामा स्थानीयवासी वर्षैपिच्छे लमजुङको दुराडाँडा अर्चल्यानीस्थित बाटेगरामा साउन ११ गते हलोक्रान्ति दिवस मनाउँछन्। बुधबार पनि ७२ औं हलोक्रान्ति दिवस मनाइएको छ। मुलुकको सिरानमा हुकुमी राणाशासन थियो। तलतिर गाउँ–गाउँमा ठालु, शोषक, जिम्मावाल, तालुकदार, तथाकथित पण्डित र पुरोहितहरू राणाशासनका जराका रूपमा थिए। गाउँले प्रायः तिनकै हैकम चल्थ्यो। 

सरकारले दुराडाँडाका हलो क्रान्तिका ब्राह्मणलाई थुन्ने रणनीति लिएछ। शेषकान्त र तोयानाथलाई गिरफ्तार गरी पोखरा पुर्‍याइएछ। बडाहाकिमले ‘राजद्रोही तिमीहरूलाई बाँकी राख्दिनँ’ भनी तर्साएछन्। तोयानाथले बाहुनले हलो जोत्न हुन्न भनी शास्त्रमा कहीँ उल्लेख छैन भनी प्रतिरक्षा गरेछन्।

त्यतिखेर बाहुनले हलो जोत्नु भनेको समाजबाटै बहिष्कृत हुनु थियो। दलित जातिले मात्र हलो जोत्थे त्यो समयमा। जोत्नेलाई दलितकै श्रेणीमा राखिन्थ्यो। समाजमा सबै जाति बराबर हुन्। त्यसैले दलितलाई मात्र काम लगाउने होइन, बाहुनले पनि जोत्न हुन्छ भनेर हलोक्रान्ति सुरु भएको थियो। 

सुरुमा पण्डित तोयानाथले हलो जोत्नुपर्छ भन्ने कुरा निकाले। २००४ सालदेखि नै यो कुरा उठेको थियो। गाउँमा तोयानाथ, हरिभक्त, शेषकान्त, हरिदासलगायतका केही व्यक्तिहरू विशेष सल्लाह हुन थाल्यो। हलो जोते के हुन्छ यसले किसानलाई सजिलो पर्छ। आफूले हलो जोत्न नहुने र हली लगाउन मुस्किल पर्ने कुराको अन्त्य हुन्छ। समयमा खेती गर्न पाउँदा उब्जनीमा वृद्धि हुन्छ। सँगसँगै चल्दै नचलेको परम्परा तोडिन्छ, हलचल हुन्छ र नयाँ चेतनाले जन्म लिन्छ भन्ने सल्लाह भयो र हलो जोतियो। 

पण्डित तोयानाथका भान्जा सुन्दरबजार नगरपालिका–३, छहरेपानीका भानुभक्त न्यौपानेका अनुसार पण्डित तोयानाथले जम्मा ४ सियो हलो जोत्नुभएको थियो, पहिलो सियो कृषि क्रान्ति, दोस्रो शिक्षा, तेस्रो राजनीति र चौथो सियो समानताका लागि थियो। हलो जोतेको १ वर्षसम्म हल्लाखल्ला मच्चियो। जोत्नेहरूलाई नजोत्नेहरूले विरोध गर्न थाले। उनीहरूलाई उल्याउन त्यतिखेर गीतै बनाएका थिए। 

हलो जोत्दा : बिहेबारीमा रोक, भातपानी चलाइएन

त्यसबेला हलो जोत्नेहरूलाई भात ठेगियो। माइत आएका छोरी घर जान पाएनन्। घर गएका बुहारी माइत आउन पाएनन्। उमेर पुगेका युवायुवतीहरूको विवाह रोकियो। जोतेको समयमा हेर्न जानेलाई समेत भात ठेगियो। कतिले गएका थिएनौं भनी ढाँटेर बिहे पनि गरे। समाज अस्तव्यस्त भयो। कैयौं पण्डितहरू निर्वासित भए। 

‘छोरीलाई तोयानाथले तनहुँ ठूलढुंगामा साउनो टपरी गाउँकै आइते सार्कीलाई कोसेली बोकाएर पठाए,’ भानुभक्तले स्मरण गरे, ‘त्यो जातीय विभेदविरुद्ध अर्कोे क्रान्ति थियो। तर, त्यो कुरा छोरीको घरमा थाहा पाएपछि उनलाई माइती फिर्ता पठाइयो।’

७ फागुन, २००७ सालबाट राणाशासन उखेलियो। तर, हलो क्रान्तिको असर भने २०११/१२ सालसम्म पनि कायमै रह्यो। २०११ सालमा गोरखाको काफलडाँडामा भएको बिहेको जन्तेबाख्रो भोजमा हलो जोत्ने र नजोत्ने बाहुनहरूबीच निकै चर्काचर्की चल्यो। त्यहाँ ‘जात राजाको, भात भताहा’ को भन्ने उखान चरितार्थ भएको थियो। भताहाले भात खाऊन् नखाऊन् हलो जोताहाहरूले कुनै मतलब राखेनन्।

गोरखा हर्मी भञ्ज्याङमा एउटा विवाहमा हलो जोताहा र नजोताहा ब्राह्मणबीच भातभान्सा चल्ने नचल्ने विवादले चर्को रूप लिएछ। एउटा पक्षले जोताहा पक्षकालाई १५ सय रुपैयाँ जरिवाना तोकेछ। जोताहा पक्षधरले यदि जरिवाना तिरेर हुने भए दलितसँग पनि जरिवाना लिई भातभान्सा चलाऔं भनेछन्। अन्ततः भोजै भाँडिएछ।

धादिङको केवलपुरमा पनि त्यस्तै घटनाको दृष्टान्त छ। देवीप्रसाद पौडेलको नेतृत्वको हलो काण्डले गाउँमा बिहेबारी नै रोकिएपछि झंकप्रसाद बाँस्कोटाले बडाहाकिमलाई नै ल्याएर भोज गराए। बडाहाकिमको रोहवरमा हलो जोत्ने र नजोत्नेहरूलाई सँगै एउटै भान्सामा भात खुवाए। त्यसपछि बल्ल सामाजिक विधि व्यवहार पुनः थालनी भयो। 

दुराडाँडाको बाटेगरामा स्थापना गरिएको हलोक्रान्तिका योद्धाहरूको नाम रहेको स्मारकको उद्घाटन गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेल।

दुराडाँडाका पण्डित शिवराज भट्ट भन्छन्, ‘सबै समान हुन्’ भन्ने कुराको जागरण फैलाउन हलोक्रान्तिले मद्दत गर्‍यो।’ हलो जोतेर तोयानाथले सबैलाई फुकुवा त गर्नुभयो,’ भट्टले भने, ‘तर जग्गा बाँझा छन्। मान्छे सबै सहरतर्फ लोभिए। गाउँघर रित्तिँदै छन्।’ तीर्थराज शर्माद्वारा लिखित पुस्तक ‘हलोक्रान्तिका जनक पण्डित तोयानाथ अधिकारी’ मा स्वर्गीय श्रीकान्त अधिकारीले लेखेका छन्, ‘त्यसपछि तत्कालीन सरकारका ताल्लुकदारहरूले विरोध गरेको ठानेर बडाहाकिमलाई गिरफ्तार गराउन सुराकी गरे। हलोक्रान्ति भएको १ वर्षपछि ७ साल ११ गतेका दिन पण्डित तोयानाथ, शेषकान्त र मलाई सरकारले गिरफ्तार गर्‍यो। रातारात लमजुङको परेवाडाँडा, कुन्छा, भोर्लेटार हुँदै १ दिन १ रातको हिँडाइपछि बिहान ४ बजे पोखरा गोश्वरामा पुर्‍याए। ठाडो बयान लिएर बडाहाकिमले नरकिय जेल पठाए। बिनापुर्जी जेलमा पठाएकाले हामीले जेलमै अनशन बस्यौं। र, ४८ घण्टाको अनशनपछि जेलबाट निकालेर खान दिए। गोश्वरामा लगेर लिखित बयान गराए। शेषकान्तले यो मुद्दा षड्यन्त्रबाट सुरु भएको बताए।’

पुस्तकमा अधिकारीले लेखेका छन्, ‘कानुनमा हलो जोत्न हुँदैन भन्ने छैन। कानुनमा मुद्दा लाग्दैन। फत्तेबहादुर सरदारले तोयानाथको कठालो तानेर यही हलो जोताउने मास्टर भन्न थाले। हप्काए, तर्साए, तर निडर तोयानाथले किसानको आवश्यकताको कुरा हो भन्ने जवाफ दिए। बाहुनले किन हलो जोताएको र जोतेको, राजकाजमा असर पुग्ने गरी हल्ला चलाएको भनेर सोधे। तोयानाथले तपाईंकै प्रशासन र ठेकेदारले हल्ला चलाएका हुन् भनेर जवाफ दिए। त्यसपछि तोयानाथ र शेषकान्तलाई दैनिक तारिखमा छोडियो तर मलाई भने पोखराको विन्दवासिनीमा पढाउने भएकाले खोजेको बेलामा पाइन्छ भनेर तारिख लगाएनन्।’ 

यस्तो परिस्थिति धेरै समय रहेन। ३ वर्षपछि सबै सकारात्मक भए। त्यसपछि जोत्न हुन्छ भन्ने भावनाको विकास भयो। चाडपर्व लाग्न साथ सबै लत्रेर आए। यस्तो कामको सबैले प्रशंसा गर्न थाले। पहिला जोत्ने ठाउँमा गएको थिइनँ भनेर ढाँट्नेहरू पनि पछि त म पनि गएको थिएँ भन्न थाले। त्यही बेलमा दलितले छोएको खानसमेत सुरु भएको थियो। 

‘क्रान्तिलाई सफल बनाएर हलचल ल्याउने राजनीतिक सोच थियो। राणाशासनको त्यस्तो समयमा हामीले ठूलो क्रान्ति गर्‍यौं। यस क्रान्तिको यस्तो ऐतिहासिक महत्व हुन्छ भन्ने चाहिँ लागेको थिएन’, हलो क्रान्तिका अगुवा श्रीकान्त अधिकारीले पुस्तकमा लेखेका छन्। 

श्रीकान्त २०१५ सालमा नेपाली कांग्रेसका तर्फबाट पहिलोपटक जननिर्वाचित सांसद बने। अधिकारीले दुराडाँडा क्षेत्रमा १२ सदनको प्राथमिक विद्यालय स्थापना गरे। उनी सर्वोदय उच्च मावि चन्द्रेश्वरको संस्थापक अध्यक्ष भए। उनका २ श्रीमतीमध्ये जेठीको निधन भइसकेको छ भने हाल कान्छी श्रीमती र ३ छोरी छन्। अधिकारीको नाममा प्रतिष्ठानसमेत स्थापना गरिएको छ। प्रतिष्ठानको अध्यक्षमा श्रीमती गायत्री अधिकारी छिन्। 

यो घटना इतिहासमा हलो क्रान्तिको रूपमा अंकित छ। हलो जोतेको दुराडाँडाको अच्र्यालेनीस्थित बाटेगरामा २ रोपनी २ आना २ पैसा २ दाम जग्गा तोयानाथको नाममा छ। उनकै नामबाट उद्यान पनि बनेको छ। यहाँ हलो जोत्ने सबैको नाम ठेगाना उल्लेख गरी सालिक बनाउने उद्देश्यसाथ हलोक्रान्ति नेपाल तथा तोयानाथ स्मृति प्रतिष्ठान बनाइएको छ। हलोक्रान्तिका रूपमा साउन ११ गते दुराडाँडामा बर्सेनि हलोत्कर्षक दिवस मनाउने गरिएको छ। ‘हामीले मात्रै हलो दिवस मनाएर यस क्रान्तिको मर्म पुग्दैन, यो दिनलाई राष्ट्रिय हलोक्रान्ति दिवसका रूपमा देशभर मनाउनुपर्ने हाम्रो माग छ’, प्रतिष्ठानका अध्यक्ष दीपक पौडेलले भने।  ‘बाटेगरा सिरु फुलेर गएको छ। यो त ऐतिहासिक ठाउँ हो। नयाँ पुस्तालाई यो देखाउनु आवश्यक छ’, अध्यक्ष पौडेलले भने, ‘हलोक्रान्ति स्थलमा पण्डित तोयानाथले अन्य ब्राह्मणको साथमा हलो जोत्दै गरेको शालिक निर्माण गरी तारबार गरी यसलाई ऐतिहासिक पर्यटकीय स्थल बनाउन सके यसलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न सकिन्छ।’

+ posts

ताजा खबर

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि...

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको...

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

नेकपामा लमजुङबाट देव गुरुङसहित १३ जना सिफारिस

नेकपामा लमजुङबाट देव गुरुङसहित १३ जना सिफारिस

लमजुङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी लमजुङले प्रत्यक्षतर्फ वरिष्ठ नेता देवप्रसाद गुरुङसहित १३ जनाको...

एमाले लमजुङबाट समानुपातिकमा आठ जना सिफारिश

एमाले लमजुङबाट समानुपातिकमा आठ जना सिफारिश

लमजुङ । नेकपा (एमाले) लमजुङले आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ आठ जनाको नाम सिफारिश गरेको छ । ...

खेलकुद, कृषि, पर्यटन र संस्कृति चिनाउन प्रथम दोर्दी महोत्सव

खेलकुद, कृषि, पर्यटन र संस्कृति चिनाउन प्रथम दोर्दी महोत्सव

लमजुङ । लमजुङको दोर्दी गाउँपालिकामा खेलकुद, कृषि, पर्यटन र संस्कृतिको उजागर गर्न महोत्सव आयोजना गर्ने भएको छ । पुसको ८,...

मर्स्याङ्दीबेँसी बनाउन अति प्रभावित क्षेत्रका बासिन्दाको माग

मर्स्याङ्दीबेँसी बनाउन अति प्रभावित क्षेत्रका बासिन्दाको माग

लमजुङ । ५० मेगावाटको मर्स्याङ्दीबेँसी जलविद्युत आयोजनाको अति प्रभावित क्षेत्र बेसीशहर नगरपालिका–१० का बासिन्दाले आयोजना निर्माणको काम तत्काल सञ्चालन गर्नुपर्ने माग...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist