लमजुङ । दुधपोखरी गाउँपालिका–१ का ७१ बर्षिय कुलबहादुर गुरुङको खुट्टा काटेको एकसाता पछि मात्र उपचारका लागि स्वस्थ्य चौकी जानुभयो । स्वास्थ्य चौकी पुग्दा उहाँको घाउ विग्रिएको मात्र थिएन सुन्निएर जटिल बनिसकेको थियो । तत्कालै स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीले प्रदेश अस्पताल बेसीसहरका विशेषज्ञ चिकित्सकलाई सम्पर्क गर्नुभयो र घाउ देखाउनुभयो । प्राथमिक उपचारपछि फलोअपका लागि बेसीसहर पठाइयो ।
दुधपोखरी–१ दुधपोखरीकै ७४ वर्षका रेशमलाल गुरुङ पनि स्वास्थ्य चौकी पुग्दा उच्च रक्तश्राव बढी भएको देखियो । उहाँलाई पनि तत्कालै विशेषज्ञसँग परामर्श गराइयो र थप उपचारका लागि अन्यन्त्र पठाइयो । उहाँहरु त प्रतिनिधि पात्र मात्र हो, प्रदेश अस्पताल बेसीसहरले टेलीमेडिसिन सेवा सुरु गरेपछि दुर्गम दुधपोखरी गाउँपालिकाका बिरामीहरुले गाउँबाटै विशेषज्ञ सेवा पाइरहेका छन् ।
दुर्गम क्षेत्रका नागरिकलाई विशेषज्ञ स्वास्थ्य सेवाको पहुँचमा ल्याउने उद्देश्यले टेलीमेडिसिन सेवा सञ्चालनमा ल्याइएको प्रदेश अस्पताल बेसीसहरले जानकारी दिएको छ । दैनिक रुपमा विशेषज्ञ चिकित्सकको ब्यवस्था गरि दुधपोखरीका नागरिकहरुलाई सेवा दिइरहेको अस्पतालका प्रमुख डा. शिशिर देवकोटाले जानकारी दिनुभयो । “टेलीमेडिसिन सेवाका लागि सबैजना मेडिकल अफिसरलाई पालैपालो ब्यवस्था मिलाएका छौंं”, उहाँले भन्नुभयो, “छिट्टै विहान ७ बजेदेखि ९ बजेसम्म विशेषज्ञसहितको सेवा दिने तयारी गरेका छौं ।”
अस्पतालका टेलीमेडिसिन सेवा विभागका इन्चार्ज गौतम पण्डितका अनुसार सेवा सुरु भएको हालसम्म ८० जना बढी विरामीले सेवा लिएका छन् । दुधपोखरीका स्वास्थ्य चौकी, सहरी स्वास्थ्य इकाई तथा प्राथमिक स्वास्थ्य केन्द्र गरि ७ वटा स्वास्थ्य संस्थाबाट बिरामीहरुले टेलीमेडिसिन सेवा लिइरहेको पण्डितले बताउनुभयो ।
‘टेलीमेडिसिन सेवा’ ले विशेषज्ञ स्वास्थ्य सेवाका लागि दुर्गम गाउँहरुबाट सदरमुकाम धाउनुपर्ने बाध्यता हटेको प्रदेश अस्पताल बेसीसहर ब्यवस्थापन समितिका अध्यक्ष हरिजंग तामाङले बताउनुभयो । “प्रदेशमै पहिलोपटक हामीले ‘टेलीमेडिसिन सेवा’ सञ्चालन गरेका हौं”, तामाङले भन्नुभयो, “छिट्टै यो सेवालाई अन्य पालिकाका दर्गम गाउँहरुमा पनि विस्तार गछौं ।”
लोकदृश्य
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link

















