लमजुङ । नयाँ वर्षको अवसरमा वैशाख १ गतेदेखि स्मार्ट भिलेज घलेगाउँमा आमन्त्रित गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । आठौं स्मार्ट भिलेज आमन्त्रित गोल्डकप फुटबल प्रतियोगितामा १२ टिमले सहभागिता जनाउने भएका छन् ।
घलेगाउँस्थित नाइन ‘ए’ साइडको स्वर्गभूमि रंगशालामा एक सातासम्म सञ्चालन हुने प्रतियोगितामा नेपालका ११ टिम र भारतको एक टिमले भाग लिनेछन् । प्रतियोगितामा लमजुङका ४ र बाँकी ७ टिम जिल्लाबाहिरको हुने आयोजक पर्यटन व्यवस्थापन समिति स्मार्ट भिलेज घलेगाउँले जानकारी दिएको छ ।
प्रतियोगितामा घरेलु टिम त्रिवेणी युवा क्लब बेंसीसहर, बेंसीसहर युथ सोसाइटी, नाल्मा ११, बेंसीसहर नगरपालिका–५ र बीवाईसी भोटेओडार छन् । भुईंखेल फुटबल क्लब काठमाडौं, अभिषेक चर्च, फ्रेन्डसिप युथ क्लब तनहुँ, गुन्नी फुटबल क्लब पोखरा, सीवाईसी नेपाल युनाइटेड तुरतुरे, रड्स रामपुर चितवन र मनाङ जिल्ला टिम छन् । प्रतियोगितामा दार्जिलिङको एमएससी क्लब बालियाले पनि भाग लिने आयोजक समितिका अध्यक्ष प्रेमबहादुर घलेले जानकारी दिनुभयो ।
विजेताले ६ लाख ५ सय ५५ रुपैयाँ पुरस्कारसहित गोल्डकप जित्नेछ भने उपविजेताले ३ लाख ५० हजार ३ सय ५५ रुपैयाँ पाउनेछ । सर्वोत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई १०–१० हजार प्रदान गरिनेछ । हरेक खेलमा म्यान अफ दी म्याचको ट्रफी प्रदान गरिनेछ । प्रतियोगिता गर्न ३४ लाख ३१ हजार १ सय १० रुपैयाँ खर्च लाग्ने आयोजकले जानकारी दिएको छ ।
पर्यटन व्यवस्थापन समिति, स्मार्ट भिलेज घलेगाउँका अध्यक्ष प्रेमबहादुर घलेले २१ सय मीटरको उचाईमा यति ठूलो राशिको पुरस्कार राखेर आयोजना गरिएको सम्भवतः यो पहिलो रहेको बताउनुभयो । संविधानसभा सदस्य जमीन्द्रमान घलेले पर्यटकिय गाउँमा आयोजना हुने फुटबल प्रतियोगिताले पर्यटन विकासमा थप टेवा पुग्ने बताउनुभयो ।
पर्यटन व्यवस्थापन समिति, स्मार्ट भिलेज घलेगाउँका सचिव उमलबहादुर विकले फुटबलसँगै चर्चित कलाकारको सांगीतिक कार्यक्रम, एक घर एक धारा उद्घाटन, विमा कार्यक्रम शुभारम्भ जस्ता कार्यक्रम राखिएको बताउनुभयो ।
लोकदृश्य
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link

















