लमजुङ । मस्र्याङ्दी गाउँपालिकाका किसानलाई खेत जोत्नका लागि पावर टिलर वितरण गरिएको छ । पचास प्रतिशत अनुदानमा किसानलाई पावर टिलर वितरण गरिएको हो ।
गाउँपालिकाका नौ वटै वडाका ६५ जना किसानलाई पावर टिलर वितरण गरिएको कृषि शाखा खुदीका प्रमुख विनोद दाहालले जानकारी दिनुभयो । गाउँपालिकाले पावर टिलरका लागि बोलपत्र आब्हान गरेपछि कास्की पस्र्याङको भानु इन्टरप्राइजेजले ठेक्का पाएको थियो । २४ लाख ६४ हजारमा ठेक्का पाएको भानु इन्टरप्राइजेजले सस्तो मूल्यमा पावर टिलर उपलब्ध गराएको गाउँपालिकाले जनाएको छ ।
कृषिमा आधुनिकरण गर्नका लागि खेत जोत्न पावर टिलर वितरण गरिएको मस्र्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले बताउनुभयो । “किसानको माग बमोजिम पावर टिलर वितरण गरेका छौँ”, अध्यक्ष गुरुङले भन्नुभयो, “अर्को वर्षहरुमा कृषि सम्बन्धी अन्य सामाग्रीहरु पनि वितरण गर्दै जान्छौँ ।”
किसानको माग बमोजिम डिजल र पेट्रोलबाट चल्ने पाँच, छ र सात हर्सपावरका मिनि टिलर वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्नुन चपाइँले जानकारी दिनुभयो । बर्खामा जोत्नका लागि हिलेचक्का पनि पचास प्रतिशत अनुदानमा उपलब्ध गराउने उहाँले बताउनुभयो । “गोरु पाल्न छोडेपछि खेती लगाउनै समस्या भएको थियो”, मस्र्याङ्दी–९ गैरीगाउँका किसान मायानाथ घिमिरेले भन्नुभयो, “पावर टिलर पाएपछि हिउँद बर्खा, जुन बेलापनि जोत्न पाइने भयो ।” प्रविधिको प्रयोगले लागत घटाउने उहाँले बताउनुभयो ।
पावर टिलरले खेत जोत्ने, माटो सम्याउने, ड्याङ बनाउने, गोड्ने सबै काम गर्न सकिने कृषि प्राविधिकहरुले बताएका छन् । पहाडी जिल्ला लमजुङमा पछिल्लो समय खेत खनजोत गर्न पावर टिलरको प्रयोग बढ्न थालेको छ । गोरु पाल्ने झन्झटले कृषकहरु आधुनिक मिनी पावर टिलरतर्फ आकर्षित हुँदै गएका हुन । “आजभोली त गोरु र खेतला पाउनै गाह्रो छ । पावर टिलर भएपछि खनजोतमा सजिलो हुनेभयो”, मस्र्याङ्दी–३ तरापुका किसान रवि थापाले भन्नुभयोे, “पवर टिलर भएपछि समय, श्रमिक र खर्च सबै कम लाग्नेभयो ।”
गोरुले भन्दा ट्याक्टरमा धेरै सस्तो हुने किसानहरु बताउँछन् । ट्रयाक्टरले खेत जोत्दा झार काट्ने र डल्ला पनि माडिने हुँदा रोपाइँ गर्न सजिलो उनीहरुको भनाई छ । “गोरुभन्दा धेरै सजिलो र किफायती हुनेरहेछ,” मस्र्याङ्दी कृषि सञ्जालका अध्यक्ष भिष्मकान्त कुइँकेलले भन्नुभयो, “गोरुलाई जसरी घाँस हाल्नु परेन, तेल हालेपछि पुग्यो ।”
लोकदृश्य
-
लोकदृश्य#molongui-disabled-link
-
लोकदृश्य#molongui-disabled-link
-
लोकदृश्य#molongui-disabled-link
-
लोकदृश्य#molongui-disabled-link