लमजुङ । लमजुङको सुन्दरबजार नगरपालिका–२ परेवाडाँडाको वडा कार्यालय भवन निर्माण गर्न स्थानीय एक दम्पतीले जग्गा दान गर्नुभएको छ ।
स्थानीय समाजसेवी बाबुलाल श्रेष्ठ र आसमाया श्रेष्ठ दम्पतीले सरकारी दररेटअनुसार करिब तीसलाख रुपियाँ पर्ने एक रोपनी एघार आना जग्गा वडा कार्यालय भवन बनाउन दान दिनुभएको हो । सो ठाउँको जग्गा हाल प्रतिरोपनी १८ लाख रुपियाँ सरकारी दररेट रहेको छ ।
श्रेष्ठ दम्पतीले परेवाडाँडाको देउराली भन्ने स्थानको जग्गा किनेर वडालाई दान गर्नुभएको वडाअध्यक्ष नवीनकुमार श्रेष्ठले जानकारी दिनुभयो । जग्गादाता श्रेष्ठ दम्पती वडाअध्यक्ष नवीनकुमार श्रेष्ठको बुवाआमा हुनुहुन्छ ।
वडा कार्यालय भवन निर्माणका लागि चालु आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारले तीस लाख र सुन्दरबजार नगरपालिकाले तीस लाख रुपियाँ बजेट विनियोजन गरेका छन् । “प्रदेश र पालिकाबाट बजेट पाएपनि जग्गा नहुँदा भवन निर्माण गर्न समस्या भएको थियो”, वडाअध्यक्ष श्रेष्ठले भन्नुभयो, “जग्गा दान पायौं अब भवन निर्माण सूरु गछौं ।”
वडा कार्यालय बनाउन पैसा आएपनि जग्गा नपाएर समस्या भएपछि आफैंले खरिद गरेर वडालाई दान दिएको बाबुलाल श्रेष्ठले बताउनुभयो । “बजेट आयो, जग्गा भएन भनेर छटपटिएको पाएँ”, बाबुलालले भन्नुभयो, “जनताको सेवा लिने थलो बनाउने हो, सबैलाई सहज होस् भनेर जग्गा दान दियौं ।”
श्रेष्ठ दम्पतीले वडा कार्यालयको नाममा जग्गा धनिपूर्जा नामसरी गरेर वडाअध्यक्षलाई हस्तान्तरण गर्नुभएको छ । आफ्नै जग्गा नहुँदा हाल वडा कार्यालय स्थानीय गुठियार जग्गामा बस्दै आएको छ ।
लोकदृश्य
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
















