लमजुङ । लमजुङको क्व्होलासोंथर गाउँपालिका–६ पसगाउँमा आइतबार र सोमबार पन्ध्रौं पसगाउँ महोत्सव भएको छ । महोत्सवको गण्डकी प्रदेशका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्यालले उद्घाटन गर्नुभयो ।
महोत्सवको उद्घाटन गर्दै पर्यटनमन्त्री बस्यालले गाउँमा रैथाने उत्पादन र यातायातको सुधार गर्न सकेमा आन्तरिक तथा बाह्य पर्यटकहरु आकर्षित गर्न सकिने बताउनुभयो । उहाँले पसगाउँसहित गण्डकी प्रदेशमा रहेका होमस्टे गाउँहरुको विकास र प्रवद्र्धनका लागि आफुँ र मन्त्रालय लागिपर्ने बताउनुभयो ।
मन्त्री गुरुङले गाउँको रैथाने उत्पादनलाई लेबलिङ र ब्राण्डिङ गरेर विश्वभर निर्यात गर्दै स्वरोजगार आयआर्जन बढाउन सकिने बताउनुभयो । उहाँले गण्डकी प्रदेश सरकारले स्थानीय कोदोको रक्सीलाई लेबलिङ र ब्राण्डिङ गर्न प्रदेशसभामा विधयेक पेश गरिएको बताउनुभयो ।
मस्र्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले पर्यटन र कृषिको विकासबाट नै पालिकाको विकास र सम्वृद्धि सम्भव हुने बताउनुभयो । क्व्होँलासोथर गाउँपालिकाका अध्यक्ष सूर्यप्रसाद गुरुङले गाउँको कलासंस्कृतिलाई विश्वभर फैलाउन र पर्यटकलाई गाउँमा भित्राउन पसगाउँ महोत्सव गरिदैं आएको बताउनुभयो ।
क्व्होँलासोथर गाउँपालिकाका उपाध्यक्ष गमीमाया गुरुङले सबै पर्यटकीय गाउँहरु एकआपसमा मिलेर गाउँ पर्यटनको विकासमा लाग्नुपर्ने बताउनुभयो । क्व्होँलासोथर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधव प्रसाद वाग्ले, पत्रकार महासंघ लमजुङका अध्यक्ष सन्देश पौडेल, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्पाप) का प्रतिनिधि बृज गुरुङ, वडा नं. ७ का अध्यक्ष लक्ष्मण गुरुङले पर्यटनको विकास गर्न अन्य पूर्वाधारका क्षेत्रमा पनि सुधार गर्नुपर्नेमा जोड दिनुभयो ।
२०६० सालयता हरेक २ बर्षको फरकमा पसगाउँमा महोत्सव हुँदैआएको छ । क्व्होलासोंथर ६, पसगाउँका वडाअध्यक्ष मनलाल गुरुङले गाउँमा पर्यटक बस्नका लागि २१ घरमा होमस्टे संचालन गरिएकोे बताउनुभयो ।
महोत्सवमा लोपुन्मुख घाँटु, कृष्णचरित्र, सारंगीनाच, आमा समूह, यूवा क्लबको पौराणिक नृत्य प्रस्तुत गरिएको छ । महोत्सवमा अलैंची र चिया बगानको दृश्यावलोकन, स्थानीय गुरुङ खाना महोत्सव, प्राकृतिक दृश्यावलोकन, स्थानीय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुति लगायतका कार्यक्रम राखिएको महोत्सव प्रचारप्रसार समितिका संयोजक गोपाल गुरुङले बताउनुभयो ।

ढुंगाका छाना । घुमाउने घर । परम्परागत रहनसहन पसगाउँका विशेषता हुन् । समुद्री सतहदेखि एकहजार छसय तिस मिटरको उचाइमा रहेको पसगाउँ कास्कीको मादी गाउँपालिकाको सीमामा पर्छ । यहाँ करिब दुइसय ५० घरधुरी छन् । गाउँमा चोबीसै घण्टा बिजुली र पानीको सुविधा छ ।
बेंसीसहरबाट बागलुङपानी, घलेगाउँ, घनपोखरा, भुजुङ हुँदै हिँडेर पसगाउँ पुग्न सकिन्छ । खुदीबाट घलेगाउँ, भुजुङ हुँदै कास्कीको नागिधार, पाखुरीकोट, याङ्जाकोट हुँदै पोखरा निस्कने गुरुङ सम्पदा मार्गको एउटा गन्तव्य पसगाउँ पनि हो । बागलुङपानीबाट छुट्टिएर मालिङ, घाम्राङ हुँदै पसगाउँ पुग्न सकिन्छ ।
तनहुँको दमौलीबाट भोर्लेटार–रामबजार, गिलुङ, भोँजे, चरागाउँ, कुम्लुङ हुँदै पसगाउँ पुग्न सकिन्छ । यही बाटो अहिले पसगाउँसम्म मोटर पुगेको छ । कास्कीको बेगनासबाट तालबेंसी हुँदै रामबजार पुगेर गिलुङ हुँदै पसगाउँ जाने बाटा छन् । पोखरादेखि कालिकास्थान, सौर्य, थुम्सीकोट, गहते, पाखुरीकोट–नागिधार हुँदै पनि पसगाउँ पुग्ने सडक छ । बेंसीसहरबाट ९ कोश टाढा पर्ने पसगाउँ पोखराबाट ४७ किलोमिटरको दूरीमा पर्छ ।
लोकदृश्य
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
















