लमजुङ । लमजुङको मर्स्याङ्दी गाउँपालिकाले महामारीका रुपमा देशव्यापी फैलिएको लम्पी स्किन रोगका कारण पीडित किसानलाई मरेका प्रति चौपाय ५ हजार रुपैयाँका दरले राहत दिने भएको छ ।
लम्पी स्कीनबाट पशु चौपाय मरेपछि गाइगोरु पालन गरी जिविकोपार्जन गर्दै आएका पशुपालक किसानमा क्षति पुगेको भन्दै राहत स्वरुप गाउँपालिकाले प्रति चौपाय ५ हजार रुपैयाँ दिने निर्णय गरेको हो ।
गाउँपालिका अध्यक्ष अर्जुन गुरुङका अनुसार लम्पी स्कीनबाट मरेका प्रति चौपाय ५ हजार रुपैयाँ दिइने छ। तर, साना बाच्छाबाच्छी भएमा कम रकम उपलब्ध गराइने छ।
वर्षौंदेखि गाइगोरु पालेर जिविकोपार्जन गर्दै आएका पशुपालक किसानलाई राहत स्वरुप आर्थिक सहयोग गर्ने निर्णय गरिएको उनले बताए।
मर्स्याङ्दी गाउँपालिकाले भने मंगलबार एक सार्वजनिक सूचना जारी गरी राहतकाे लागि आवेदन दिनुहुन पीडित पशुपालक किसानलाई आग्रह गरेको छ ।
चालु आर्थिक वर्षमा मर्स्याङ्दी गाउँपालिकामा लम्पी स्कीनबाटमात्रै गाइगोरु र बाच्छासहित कम्तीमा १ सय ७८ वटा चौपाय मरेको गाउँपालिकाले जनाएको छ । यसमा धेरैमात्रामा गाइगोरु छन् ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौतम पंज्ञानीका अनुसार किसानलाई मर्स्याङ्दी गाउँपालिकाको विपद व्यवस्थापन कोषबाट राहत रकम उपलब्ध गराइनेछ । उनका अनुसार लम्पी स्कीनबाट गाइगोरुलगायत चौपाय मरेका किसानलाई गाउँपालिकामा निवेदन पेश गर्नुपर्नेमा छ । भुक्तानीको लागि निवेदन, पशु मृत्यु भएको स्पष्ट खुल्ने फोटो, फाेटाे नभए मुचुल्का, गाउँपालिकाको पशु शाखाको सिफारिस, वडा कार्यालयको सिफारिस र चाैपाय धनीको नागरिकता प्रतिलिपी उपलब्ध गराउनुपर्ने गाउँपालिकाले जनाएको छ ।
देशभर महामारीकाे रूपमा फैलिएकाे लम्पी स्किनले लाखाैं पशुचाैपाय विरामी हुनुकाे साथै हजाराैं पशुचाैपाय मरेका छन् । तर, पीडित किसानका लागि संघ र प्रदेश सरकारले हालसम्म राहत घाेषणा गर्न सकेका छैनन् ।
लोकदृश्य
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
















