लमजुङका छन्दकवि एवं साहित्यकार श्रीकृष्ण न्यौपानेले एकैपटक तीन कृति सार्वजनिक गरेका छन् ।
न्याैपानेले कविता संग्रह, खण्डकाव्य र शास्त्रीय गजल संग्रह गरी तीनवटा कृति प्रकाशित गरि सार्वजनिक गरेका हुन् । सयवटा फरकफरक छन्दमा लेखिएका १०० वटा कविताहरूको संग्रह रहेको सय छन्द कविता संग्रह, ऐतिहासिक विषयवस्तु समेटिएको खण्डकाव्य राता सिपाही र १०० वटा बहरबद्ध शास्त्रीय गजलहरू रहेको श्रीकृष्ण गजल संग्रह पाठकमाझ ल्याएका छन् ।
सय छन्द कविता संग्रहमा भूमिका लेख्दै नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य डा. देवी नेपालले यसभित्र मानव हृदयलाई झङ्कृत पार्न सक्ने ताल, मान्छेलाई जागृत गराउन सक्ने भावनाको छाल, सिर्जनात्मक आनन्द छर्न सक्ने सुवास र सयवटा छन्दभित्र नयाँ नेपाली पिङ्गलको अप्रत्यक्ष बास भएको बताएका छन् । एकसय वटा छन्दलाई एकसय वटा कवितामा प्रयोग गर्नु प्रस्तुत कविता संग्रहको उदेश्य रहेको र यस्ता कवितामुखी सिर्जनाहरूमा प्रायः सूत्रको बाहुल्य र कवित्वको कमी हुने भए तापनि यहाँका कविताहरूमा छन्दका लागि कविताको प्रयोग नभएर कविताका लागि छन्दको सहयोग लिएको अनुभूति भएको उनकाे भनाई छ । छन्दका कारण कविले कतै पनि निस्सासिनुपरेको अवस्था नभएको उनी बताउँछन ।
पुस्तकमा उनी लेख्छन–‘भावगत विविधता र प्रस्तुतिगत कलाकारिता यस सङ्ग्रहका कविताको मूलभूत चिनारी हो । यहाँ पाइने शब्दको कालिगढी र भावसिर्जनाको जादुगरी अद्भुत प्रकृतिको छ । यी कविताहरू पढ्दा कवि श्रीकृष्ण एक विशिष्ट छन्दज्ञाता, शब्दका कालिगढ, सूक्ष्म हृदयदृष्टिका धनी र सत्यलाई सूक्तीकरण गर्न सक्ने प्रतिभाका रूपमा देखापर्नुभएको छ ।’
त्यस्तै गजल सङ्ग्रहलाई शुभकामना दिँदै वरिष्ठ गजलकार डा.घनश्याम परिश्रमीले नेपालीमा बेबहर/बेछन्दमा पनि गजल हुन्छ भनेर सार्विक नियमको अनुपालन नगरीकन गजल लेख्नेहरूको जमात बढीरहेको अवस्थामा साहित्यकार श्रीकृष्ण न्यौपानेले बहरमा गजल लेख्नु सराहनीय पक्ष भएको र नेपाली गजल परम्परामा यस सङ्ग्रहको विशिष्ट खालको पहिचान स्थापित हुने बताए । राता सिपाही खण्डकाव्यमा भूमिका लेख्दै कारागार व्यवस्थापन विभागका प्रबक्ता झंकनाथ ढकालले विगत द्वन्द/युद्धको समयमा गाउँबेँसीमा रहेर गरेका अनुभूतिहरू नजिकबाट नियाँलेका कविबाट सोही परिवेशलाई समेटेर लेखिएको खण्डकाव्यले इतिहासको झल्को दिने बताए ।
सय छन्द कविता सङ्ग्रहमा बेंसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्याल, गजल सङ्ग्रहमा लमजुङका पुर्व प्रजिअ एवं सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगका सदस्य लक्ष्मणबहादुर खड्का र राता सिपाही खण्डकाव्यमा लमजुङ जिल्लाका प्रमुख जिल्ला अधिकारी सुशील बैद्यले शुभकामना दिएका छन् । साहित्यकार न्यौपाने विपासना महाकाव्य र रातो बाघ महाकाव्यको शीघ्र प्रकाशनको तयारीमा रहेकाे उनका छाेरा श्यामविक्रम न्याैपानेले जानकारी दिए। साहित्यकार न्यौपाने, पिता भारतीय सेनाको मेजर पदमा कार्यरत रहँदा भारतीय सैनिक तालिम केन्द्र डिमापुर भारतमा जन्मेर जीवनको आधा शताब्दी समय नेपाली छन्द साहित्यको जगेर्नामा खर्चिएका छन् ।
लोकदृश्य
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
















