लमजुङ । यहाँको मस्र्याङ्दी गाउँपालिकाका दुई महत्वपूर्ण नाकामा रहेका बजार क्षेत्रलाई सिसीटिभी क्यामेराको निगरानीमा राखिएको छ । वडा नं. ३ को खुदीबजार र वडा नं. ४ को जगत बजारलाई सिसीटिभी क्यामेराको निगरानीमा राखिएको हो ।
बजार व्यवस्थापन तथा सुरक्षा प्रवद्र्धन गर्ने उद्देश्यले खुदीबजार र जगत बजार क्षेत्रमा क्यामेरा जडान गरिएको गाउँपालिकाले जनाएको छ । खुदी बजारमा १० वटा तथा मनाङतर्फ जाने मुख्य नाका जगत बजारमा ४ वटा सिसीटिभी क्यामेरा जडान गरिएको छ ।

निगरानी प्रणालीलाई प्रभावकारी बनाउन दुबै ठाउँमा रहेका सुरक्षा निकायलाई प्रत्यक्ष पहुँच प्रदान गरिएको छ । यसबाट बजार क्षेत्रमा हुने गतिविधि नियन्त्रण गर्न, अवाञ्छित क्रियाकलाप रोक्न र आपत्कालीन अवस्थामा छिटो प्रतिक्रिया दिन सहज हुने गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले बताउनुभयो । उहाँले आगामी दिनमा थप प्रविधिमैत्री सुरक्षाका उपायहरू अपनाइने समेत बताउनुभयो ।
क्यामेरा जडानले बजार क्षेत्रमा आपराधिक गतिविधि न्यूनीकरण गर्न, निगरानी प्रभावकारी बनाउन र स्थानीयवासी तथा यात्रुहरूलाई सुरक्षित महसुस गराउन टेवा पुग्ने प्रमुख प्रशासकीय अधिकृत अर्जुन चपाइँले बताउनुभयो ।
मस्र्याङ्दी गाउँपालिकाले बजार व्यवस्थापन र स्थानीय सुरक्षालाई उच्च प्राथमिकता दिँदै, प्रविधिको अधिकतम उपयोग गर्दै जाने नीति लिएको छ । आगामी दिनमा अन्य क्षेत्रहरूमा पनि यस्ता प्रविधिहरू विस्तार गर्ने योजना रहेको गाउँपालिकाले जनाएको छ ।
सिसीटिभी क्यामेरा जडानपछि बजारबासी खुसी भएका छन् । “बजार बढ्दै गएपछि दुर्घटना, चोरी डकैतीपनि बढेका छन्”, उद्योग बाणिज्य संघ खुदी इकाईका उपाध्यक्ष ऋषिराम बस्नेतले भन्नुभयो, “क्यामेराले निगरानी गरेपछि आपराधिक गतिविधि न्यूनीकरण हुने विश्वास छ ।”
मस्र्याङ्दी–४ जगत बजार पर्यटकीय क्षेत्र हो । सिजनमा दैनिक तीनसयका हाराहारीमा विदेशी तथा स्वदेशी पर्यटक आउने गर्दछन् । मनाङको नाका समेत रहेको यो बजारमा सिसीटिभी क्यामेरा जडानपछि सुरक्षा र अन्य दृष्टीकोणले पनि राम्रो हुने स्थानीय ब्यवसायी बगबहादुर गुरुङले बताउनुभयो ।
लोकदृश्य
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link

















