लमजुङ । प्रदेश अस्पताल बेसीसहरमा रेडियोलोजी सेवा सञ्चालनमा आएको छ । शरीरको भित्री अंगहरुमा लुकेर लागेका रोगहरु पत्ता लगाउन रेडियोलोजीको प्रयोग गरिन्छ ।
आइतबार गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले रेडियोलोजी सेवाको साथै सर्जिकल कक्षको उद्घाटन गर्नुभयो । यो सेवा विस्तारसँगै अस्पतालले जिल्लावासीलाई गुणस्तरीय स्वास्थ्य सेवा दिने उहाँले विश्वास व्यक्त गर्नुभयो । अस्पतालको क्षमताबृद्धिका लागि भवन निर्माण, जनशक्ति र मेसिनरी सामाग्रीको परिपूर्ति गर्न आफुँ लागिपरेको स्वास्थ्यमन्त्री पाठकले बताउनुभयो ।
उहाँले गण्डकी प्रदेशका प्रादेशिक अस्पतालहरुमा गुणस्तरिय सेवा प्रदान गर्न मन्त्रालयले अल्पकालिन, मध्यकालिन र दीर्घकालिन योजना बनाएको बताउनुभयो ।
प्रदेश अस्पताल बेसीसरहको ब्यवस्थापन समितिका अध्यक्ष हरिजंग तामाङले भित्री अंगहरुमा हुने रोग पहिचानका लागि सिटीस्क्यान तथा एमआरआईको महत्व रहेकाले रेडियोलोजी सेवाले सेवाग्राहीहरुलाई थप सन्तुष्टी दिने बताउनुभयो ।
हाल इन्टरभेन्सन रेडियोलोजीको माध्यमबाट केही रोगहरुको पहिचान मात्र नभई उपचार समेत हुने गरेको चिकित्कहरु बताउनुहुन्छ । यो सेवाबाट गम्भीर अवस्थाका बिरामीलाई प्रभावकारी उपचार सेवा उपलब्ध गराउन सहज हुने अस्पताल प्रशासन प्रमुख डा. शिशिर देवकोटाले जानकारी दिनुभयो ।

देवकोटाका अनुसार अस्पतालले एक महिनादेखि रेडियोलोजी सेवाको परिक्षण गरेको थियो । एक महिनाको परिक्षणकाल सफल भएपछि मन्त्रीबाट उद्घाटन गरिएको उहाँले बताउनुभयो । अस्पतालमा सर्जिकल कक्ष पनि निर्माण गरिएको छ । यसअघि शल्यक्रिया गरेका विरामी राख्नका लागि छुट्टै कक्षको ब्यवस्था नभएकाले समस्या भएको अस्पतालले जनाएको छ । अबका दिनमा छुट्टै कक्ष भएपछि विरामीको हेरचाह र उपचारमा सहजता हुने अस्पताल ब्यवस्थापन समितिका सदस्य बासुदेव थापाले जानकारी दिनुभयो ।
जिल्ला समन्वय समितिका प्रमुख पूर्णबहादुर गुरुङ र प्रमुख जिल्ला अधिकारी बुद्धबहादुर गुरुङले अस्पतालको सेवा विस्तारले नागरिकहरुमा सहज हुने विश्वास ब्यक्त गर्नुभयो ।
लोकदृश्य
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link

















