लमजुङ । एकसाता लगाएर विद्युत गृहको एउटा टर्वाइनको मर्मत सकिएपछि मर्स्याङ्दी गाउँपालिकास्थित ५० मेगावाटको माथिल्लो मस्र्याङ्दी ‘ए’ जलविद्युत् आयोजनाबाट विद्युत उत्पादन सुरु भएको छ । मर्मतपछि शुक्रबारदेखि विद्युत उत्पादन सुरु भएको आयोजनाले जनाएको छ ।
आयोजनाको दुईवटा टर्वाइन मध्ये युनिट ‘एक’ को मर्मतसम्भार गरिएको सिनो हाइड्रो सगरमाथा पावर कम्पनीले जनाएको छ । “युनिट ‘एक’ को मर्मतपछि २५ मेगावाट विद्युत उत्पादन भएको छ”, आयोजनाका दोभासे दयाराम दाहालले भन्नुभयो, “युनिट दुईको मर्मतसम्भार चलिरहेको छ ।” युनिट दुईको मर्मतकार्य सकिन अझै दुईदेखि तीन महिनासम्म लाग्ने उहाँले बताउनुभयो ।
गत शनिबारदेखि आयोजनाको विद्युत गृहका टर्वाइन र बाँधस्थल वरपरको मर्मत सुरु गरिएको थियो । आयोजनामा २५÷२५ मेगावाटका २ वटा फ्रान्सिस टर्बाइन रहेका छन् । आयोजनामा टर्वाइनको मर्मतसम्भार चाइनाबाट आएको प्राविधिक समूहले गरिरहेको छ । विद्युत प्राधिकरणसँग एक हप्ताको समय लिएर मर्मत थालिएको थियो ।
रन अफ रिभर (पानीको बहावमा आधारित) उक्त परियोजनाको बाँधस्थलमा चाइनिज कम्पनी ब्युरो सातसँग मिलेर नेपाली निर्माण ब्यवसायीहरुले मर्मत गरिरहेका छन् । यो क्षेत्रको मर्मतकार्य अप्रिल अन्तिमसम्म चल्नेछ । टर्वाइन मर्मतमा चिनियाँ विषेशज्ञसहित इन्जिनियर तथा प्राविधिकहरु खटिएका छन् । यसको मर्मतकार्य दुईदेखि तीन महिनासम्म लाग्ने आयोजनाले बताएको छ ।
बर्खामा खोलामा मिसिएका पहिरोसहितको ढुङ्गामाटो र बालुवाका कणले टर्बाइनका दाँतहरू टुक्राएकाले हिउँदको समयमा बर्षैसाल मर्मत गरिने आयोजनाले जनाएको छ ।
सन् २०१३ को जनवरीमा निर्माण सुरु गरिएको माथिल्लो मस्र्याङ्दी ’ए’ आयोजनाले २०१७ जनवरीबाट व्यावसायिक विद्युत् उत्पादन सुरु गरेको थियो । आयोजनामा चिनियाँ बहुराष्ट्रिय कम्पनी सिनो हाइड्रोको ९० र नेपालको सगरमाथा हाइड्रोपावर कम्पनीको १० प्रतिशत लगानी रहेको छ ।
लोकदृश्य
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
















