लमजुङ । मर्स्याङ्दी गाउँपालिका ८, भुस्मेमा रहेको धर्म भक्त आधारभूत विद्यालयको स्वर्ण महोत्सवको उद्घाटन गरिएको छ ।
विद्यालय स्थापना भएको ५० वर्ष पुगेको अवसरमा विद्यालयले ५० औं स्थापना दिवससंगै स्वर्ण महोत्सवको कार्यक्रम आयोजना गरेको हो ।
महोत्सवको औपचारिक कार्यक्रमलाई सोमबार उद्घाटन गर्दै पूर्वमन्त्री एवं नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले शिक्षालाई सबैकाे साझा मुद्दा बनाएर सुधारमा लाग्नुपर्ने बताए ।
शिक्षा, स्वास्थ्य, विकास निर्माणजस्ता साझा मुद्दामा सवै मिलेर अगाडि बढ्नुपर्ने उनकाे भनाई थियाे । संघीय लोकतान्त्रिक गणतन्त्रले शिक्षालाई मौलिक हक र अधिकारको रुपमा स्थापित गरेको भन्दै नागरिकलाई शिक्षा दिनु राज्यको दायित्व रहेको बताए । राज्यले शिक्षा नदिए अदालतमा मुद्दा समेत लाग्ने उनको भनाइ थियाे।
उनले अझैपनि नेपाल विदेशी शक्तिको थिचोमिचोमा परेको बताए । राजतन्त्र फर्किने सम्भावना नरहे पनि विदेशी शक्तिको थिचोमिचो यथावत रहेको भन्दै त्यो थिचोमिचोबाट नेपाललाई मुक्त गराउन राजनीतिक दलहरुबीच सहमति र सहकार्यको विकल्प नभएको बताए । उनले एकले अर्कोलाई निषेध गर्न नहुने समेत बताए ।
कार्यक्रममा मर्स्याङ्दी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङ, नेकपा एमालेका उपसचिव जीतबहादुर गुरूङ, निवर्तमान उपाध्यक्ष होमबहादुर विक, अमर माविका प्रधानाध्यापक तीर्थबहादुर बस्नेतलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं स्वर्ण महोत्सव मूल समारोह समितिका संयोजक होमराज तामाङको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका शिक्षक डिलमाया गुरुङले स्वागत मन्तव्य राखिन भने प्रधानाध्यापक दउबहादुर तामाङले विद्यालयको प्रगति प्रतिवेदन विवरण प्रस्तुत गरे ।
आइतबारदेखि सुरु भएको महोत्सव मंगलबारसम्म सञ्चालन हुनेछ । आइतबार अन्तर सदनात्मक तथा अभिभावकहरुको विविध कार्यक्रम आयोजना गरिएकोमा सोमबार कार्यक्रम उद्घाटन, प्रतिवेदन प्रस्तुत, शुभकामना मन्तव्य, पालिका स्तरीय खेलकुद प्रतियोगिता, सम्मान कार्यक्रम, साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ । माघ १६ गते विद्यालयका संस्थापक, चन्ददाता, जमिनदाता, पूर्व प्रधानाध्यापक, शिक्षकलगायतलाई सम्मान तथा ख्याति प्राप्त कलाकारहरुको प्रस्तुति, आमा समूह र युवाहरुको नृत्य, लोक दोहोरी कार्यक्रम, समापन र साँझ दिपवालीको कार्यक्रम रहेको छ ।
लोकदृश्य
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
















