लमजुङ । मर्स्याङ्दी गाउँपालिकामा उद्योग ब्यवसाय स्थापना गरि रोजगारी सिर्जना गर्ने उदेश्यले स्थापना गरिएकाे मर्स्याङ्दी ग्रुपमा लगानी गर्ने ३ सय ६५ जना पुगेका छन् ।
साउन मसान्तसम्म ३ सय ६५ जनाले पहिलाे किस्ता स्वरूप २५ हजार रूपैयाँ जम्मा गरेका छन् । शेयर राख्न अझै पर्याप्त समय र सुचना नपाएकाे जनगुनासाेलाई मध्यनजर गर्दै शनिवार बसेकाे ग्रुपकाे बैठकले भदाै १० गतेसम्म समय थप गर्ने निर्णय गरेकाे छ ।
ग्रुपमा आवद्व भएका शेयर सदस्यहरूकाे भदाै ८ गते भेला आयाेजना गर्ने निर्णय भएकाे संयाेजक अर्जुन गुरूङले जानकारी दिए ।
पालिका भित्र रहेका विभिन्न सम्भावनाहरुलाई उद्योगमा परिणत राेजगारी र आयआर्जन बढाउन ‘मर्स्याङ्दी ग्रुप’ निर्माण गरिएको हो ।
ग्रुपमा जाेडिन चाहनेहरूले हिमालयन बैंक भुलभुले शाखामा रहेकाे युवा घले र नन्दराज तामाङकाे संयुक्त खाता नम्बर २५७५५२४८१४००३३ मा पहिलाे किस्ता स्वरूप २५ हजार जम्मा गर्न सक्नेछन् ।
मर्स्याङ्दी ग्रुपले मर्स्याङ्दी–२ घनपोखरामा रहेको किचे खोलामा एक मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गर्ने, खुदी वरपर पेट्रोल पम्प निर्माण गर्ने, जडिबुटी प्रशोधन केन्द्र, पर्यटन रिसोर्ट, जिपलाइन, स्विईङ, तातोपानी कुण्ड ब्यवस्थापन तथा फलफुल, तरकारी, दुध, जटिबुटीको फार्मिङ गर्ने लक्ष्य लिएको छ ।
यस्तै पालिका भित्रको प्राकृतिक स्रोतसाधनको सदुपयोग गर्न कंक्रिट सामाग्री तथा क्रसर उद्योग, प्लाईउडको कच्चापदार्थ उद्योग, गुन्द्रुक, अचार उद्योगहरु स्थापना गर्ने ग्रुपको लक्ष्य छ ।
ग्रुपको संयोजनकारी भूमिकाको निम्ति गठन गरिएको तदर्थ समितिमा गाउँपालिका अध्यक्ष अर्जुन गुरुङ संयोजक, मर्स्याङ्दी–१ र २ बाट कृष्ण विक, मर्स्याङ्दी–३ बाट प्रेमबहादुर बस्नेत, मेघराज तामाङ, टिकाराम भण्डारी, मर्स्याङ्दी–४ बाट महेन्द्र थापा, मर्स्याङ्दी–५ बाट घनश्याम घले, मर्स्याङ्दी–६ बाट विनोद गुरुङ, मर्स्याङ्दी–७ बाट युवा घले, अजय तामाङ, मर्स्याङ्दी–८ बाट नन्दराज तामाङ, मर्स्याङ्दी– ९ बाट विकास घिमिरे सदस्य रहेका छन् ।
‘पालिका भित्र धेरै सम्भावनाहरु छन् । यसको विकासका लागि पालिका, प्रदेश र संघको बजेट पर्याप्त हुँदैन’, मर्स्याङ्दी गाउँपाकिा अध्यक्ष अर्जुन गुरुङले भने, ‘राज्यले पनि नसक्ने र एउटै ब्यक्तिले पनि लगानी गर्न नसक्ने भएपछि समूह बनाएर अघि बढेका हौं ।’ उनका अनुसार यो कार्यले यहाँको विकास, अर्थतन्त्रको चलायमान र रोजगारी स्थापना गर्नेछ ।
मर्स्याङ्दी ग्रुपको माध्यमबाट विभिन्न क्षेत्रमा लगानी हुने उनले बताए । यहाँ भएका खोला नाला, ढुङ्गा वालुवा, जटिबुटि, खर्कहरु, बाँझो जमिन, पर्यटकिय क्षेत्रहरुको अधिकतम उपयोग हुने र यसले रोजगारी र अर्थतन्त्रलाई चलायमान बनाउने उनले बताए ।
ग्रुपमा लगानी गर्नका लागि हाल न्युनतम ५० हजारदेखि अधिकतम ३० लाखसम्मको खाका तयार पारिएको छ । लगानीकर्ताले ग्रुपमा या फरक फरक उद्योग ब्यवसायमा पनि लगानी गर्न पाउनेछन् । प्रत्येक उद्योग तथा काम लागि फरक फरक सञ्चालक समूह गठन गरिनेछ ।
लोकदृश्य
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
















