लमजुङ । जिल्ला प्रशासन कार्यालय लमजुङले बेसीशहर बजारका पसलहरुमा तिहारका लागि बेच्न राखिएका प्लास्टिकका फूलका मालाहरु जफत गरेको छ ।
शुक्रबार दिउसाे गरिएकाे बजार अनुगमनका क्रममा मनाङे चौताराबाट भिमसेन स्थानचोक सम्म १२ वटा पसलबाट ८ सय ५ वटा प्लास्टिकका माला जफत गरेको हो ।
तिहार पर्व नजिकिएसँगै बजारमा प्रतिवन्ध भएको प्लास्टिकका फूलका मालाहरु अत्याधिक मात्रामा भित्रिएकाले यसको रोकथामका लागि अनुगमन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णराज सुयँलले बताए ।
अनुगमनका क्रममा भिमसेन स्थानचोकमा रहेको शिवशंकर पुजा सामाग्री पसलले पोखरामा रहेको भट्टराई पुजा पसल बगर पोखरा र जयन्ती पुजा सामाग्री पसलले बैदिक पूजा सामाग्री सप्लायर्स भरतपुर १ नारायणगढ चितवनबाट प्लास्टिकका फूलमाला खरिद गरेकाे बिल भेटिएकाले सम्बन्धीत निकायबाट कारवाही हुनुपर्ने बजार अनुगमन प्रतिवेदनमा उल्लेख गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले नेपाल सरकारले २०७९ साउन १२ गतेबाट नै प्लाष्टिकजन्य फूलगुच्छाको उत्पादन, आयात, निर्यात, बिक्री बितरण तथा भण्डारणमा रोक लगाएको बताए । १६ महिना अघिदेखि नै प्लाष्टिकजन्य फुलगुच्छा विक्री वितरणमा रोक लगाइएको भए पनि व्यापारीहरुले अटेर गरेकोले बाध्य भएर जफत गर्नुपरेको प्रजिअ अधिकारीले बताए।
नेपाल राजपत्रमा प्रकाशित सूचनामा दशैं तिहार, छठ लगायतका पर्वमा प्लाष्टिकजन्य फूल गुच्छा विक्री बितरण रोक्ने तथा नेपालमा हुने फूलखेती तथा व्यवसायलाई प्रोत्साहन गर्न छिमेकी राष्ट्रबाट बैद्य तथा अबैद्य फूल आयातलाई नियन्त्रण र नियमन गर्ने भनी उल्लेख गरिएको छ ।
बजार अनुगमनमा जिल्ला प्रशासन कार्यालय लमजुङका सहायक प्रजिअ गोकर्णराज सुँयल, पर्यटन तथा उद्योग कार्यालय लमजुङका प्रमुख मिताकुमारी थापा, प्रहरी, उद्योग बाणिज्य संघ र नेपाल पत्रकार महासघंको प्रतिनिधिहरूकाे सहभागिता रहेको थियो ।
लोकदृश्य
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
















