लमजुङ । लमजुङको मर्स्याङ्दी गाउँपालिका वडा नं. ९ सिम्पानी बगैँचामा पर्यटक चेकपोस्ट तथा सूचना केन्द्र स्थापना गरिएको छ।
राष्ट्रिय प्रकृति संरक्षण कोष अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यलय भुजुङले सूचना केन्द्रसँगै बनपैदावर चेकपोस्ट र पर्यटक इन्ट्री काउन्टर पनि स्थापना गरेको हाे।
अन्नपूर्ण पदमार्गको प्रवेशद्वार मर्स्याङ्दीमा पर्यटक चेकपोस्ट, सूचना केन्द्र र इन्ट्री काउन्टरहरू स्थापना भएसँगै अन्नपूर्ण पदमार्ग हुँदै मनाङ पुग्ने पर्यटकलाई थप सहज हुने भएको छ।
चेकपोस्टमा पर्यटकीय जिल्ला मनाङको भ्रमणमा आउने र अन्नपूर्ण पदमार्गको थोराङ्ला पास गर्ने पर्यटकको तथ्यांक राख्ने र पर्यटकलाई आवश्यक सूचना उपलब्ध गराइनेछ।
सूचना केन्द्रलाई व्यवस्थित गर्दै पर्यटकको तथ्यांक राख्नका लागि चेक पोस्ट, सूचना केन्द्र र इन्ट्री काउन्टर स्थापना गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय भुजुङका कार्यालय प्रमुख राजेश गुप्ताले जानकारी दिए ।
उनका अनुसार अन्नपूर्ण पदमार्गमा आउने पर्यटकलाई मौसमको अवस्था, पदमार्ग, भूगोल, आवास सुविधालगायतका सूचना प्रदान गरिनेछ। साथै, पर्यटक अनुमतिपत्र जारी, प्रवेशपत्र, चेकजाँच, सूचना आदि सेवाहरू उपलब्ध हुने छ ।
मौसम खराबीको कारण हुन सक्ने सम्भावित दुर्घटनाबाट पर्यटकलाई जोगाउन, तत्काल उद्धार गर्न, पर्यटकको यकिन विवरण राख्न चेकपोस्ट र सूचना केन्द्रले सहयोग पुग्ने विश्वाससमेत गरिएको छ।
चेकपाेष्टकाे उद्घाटन गर्दै मर्स्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरूङले यस कार्यालयलाई स्थायी बनाउन पहल गर्ने बताए । उनले भने,-`याे गाेरखा मनाङ मात्र नभएर चाईनादेखिकाे नाका हाे । यहाँका बनपैदावरबाट हुने चाेरी निकासी नियन्त्रण गर्न यसलाई अझ ब्यवस्थित र मजवुत बनाउनुपर्छ । पर्यटकले सुरक्षित महसुस गर्नेगरि सुचनाहरू दिनुपर्छ ।´
विशेष अतिथि प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले सेवालाई गुणस्तरीय बनाउन सुझाव दिए । उनले भने,-`सेवामा सम्वेदनशिल हुनुपर्छ । हाम्राे देशकाे प्रचार गर्ने मुख्य निकाय पनि याे हाे । यहाँ हामीले यहाँ पर्यटकलाई कस्ताे ब्यवहार गर्छाैं, त्यहि सन्देश पर्यटकले विदेश लैजान्छन । त्यसैले हाम्राे सेवा र ब्यवहार राम्राे गरायौं भने राम्राे सन्देश बाहिर जान्छ, देशकै ईज्जत् रहन्छ । उनले बनपैदावर तथा बन्यजन्तुकाे संरक्षण गर्नुपनि यसकाे दायित्व भएकाे बताए ।
वडा नं. ९ का अध्यक्ष हरिश्चन्द्र थापाकाे अध्यक्ष्यतामा भएकाे कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी मिनबहादुर घले, वडा नम्बर ३ का अध्यक्ष दुधमान तामाङ, नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रीय सदस्य नवीनराज कुईकेल, पत्रकार महासंघ लमजुङका निवर्तमान अध्यक्ष अाश गुरूङ लगायतकाे उपस्थिति थियाे । कार्यक्रमकाे सहजीकरण एक्यापका आनन्द सुवेदीले गरेका थिए ।
लोकदृश्य
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link















