काठमाडौं । यस वर्ष विजया दशमीको साइत असोज १९ गते बुधबार बिहान ११:५१ बजे उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
त्यस दिन बिहान १०:३४ बजे देवी विसर्जन गरी ११ : ५१ बजेको साइतमा मान्यजनबाट देवीको प्रसादका रूपमा टीका लगाउन सकिने समितिले जनाएको छ ।
पूर्वी मोहडा गरेर टीका लगाउनुपर्ने पनि समितिले जनाएको छ । विजयादशमीका दिन दिनभर टीका लगाउन सकिने भए पनि साइतमै टीका लगाउन चाहनेका लागि यो साइत दिइएको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए ।
राज्य सञ्चालकले भने समितिले तोकेकै साइतमा मान्यजनबाट टीका, प्रसाद थाप्नुपर्ने उनले बताए । देवीको प्रसादका रूपमा देशका धेरै भागमा कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट टीका र आशीर्वाद थाप्ने गरिन्छ । केही भागमा भने विजयादशमीका दिनमात्र देवीको प्रसादका रूपमा टीका थाप्ने गरिन्छ ।
यस वर्ष असोज १० गते सोमबारदेखि नवरात्रारम्भ हुँदैछ । नवरात्रको पहिलो दिन घटस्थापना गरिन्छ । घटस्थापनाका लागि बिहान १०:२३ बजेको साइत शुभ रहेको छ । असोज ११ गते झण्डा फेर्ने साइत ११:११ बजे उत्तम रहेको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले बताए । झण्डा फेर्दा पूर्व मोहडा गरेर फेर्नुपर्ने पनि उनले सुनाए।

लोकदृश्य
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
















