
सभामुख अग्निप्रसाद सापकोटा र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच शुक्रबार भेटवार्ता भएको छ।
उनीहरुबीच सभामुखको सरकारी निवास लैनचौरमा शुक्रबार बिहान भेटवार्ता भएको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले बताएका छन्।
भेटका क्रममा दुई देशबीचको सम्बन्ध, आपसी हित र चासोबारे छलफल भएको बताइएको छ। सभामुख सापकोटाले हालैको दशकमा चीनले गरिबी निवारणमा पाएको उपलब्धी, कोभिड महामारी नियन्त्रणमा लिएको पहलकदमी, छिमेक नीति र अन्तर्राष्ट्रिय कूटनीतिमा चीनको परिपक्वताको प्रशंसा गरेका न्यौपानेले बताए।
सापकोटाले नेपाल एक चीन नीतिमा सदैव प्रतिबद्ध रहेको स्पष्ट गर्दै नेपाली भूमि छिमेकी राष्ट्रविरुद्ध प्रयोग हुन नदिने विषयमा नेपाल सधैँ चनाखो र सचेत रहेको बताए। उनले संयुक्त राष्ट्रसंघको बडापत्र तथा पञ्चशीलको सिद्धान्तअनुरुप कुनै पनि मुलुकको सार्वभौमिकता र आन्तरिक मामिलामा अहस्तक्षेपको नीतिको सबैले सम्मान गर्नु पर्ने धारणा राखे।
उनीहरुबीच दुई देशबीचका व्यापारिक नाका सुचारु गराउनेबारे पनि छलफल भएको छ। तर यसबारेमा सभामुखको सचिवालयले विस्तृत छलफलको विवरण उपलब्ध गराएको छैन।
न्यौपानेले भेटका क्रममा भुकम्पसहितका विपत्ति र कोभिड महामारीका सुचारु हुन नसकेका उत्तरी नाकाको विषयमा पनि छलफल भएको बताएका छन्।
नेपालको प्रशंसा
शुक्रबारको भेटमा राजदूत होउ यान्छीले नेपाल, चीनको असल छिमेकी रहेको बताउँदै एक चीन नीतिप्रति नेपालको प्रतिवद्धताको प्रशंसा गरिन्।
नेपालको स्वतन्त्रता, सार्वभौमिकता र राष्ट्रिय अखण्डताको पक्षमा चीनले सदैव दृढ समर्थन गर्दै आएको उनले बताइन्।
राजदूत होउले आगामी दिनमा पनि नेपालको विकास र समृद्धिमा चीनको निरन्तर साथ र सहयोग रहने प्रतिवद्धता पनि जनाएकी छन्।
लोकदृश्य
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
















