लमजुङ । नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीतिक दलहरुसँग भएको सम्झौता तोडेको बताउनुभएको छ । अझैपनि संविधान विरोधी गतिविधि गरिरहे सरकारले कारबाही गर्ने उहाँले चेतावनी दिनुभयो ।
आइतबार लमजुङको क्व्होँलासोंथर गाउँपालिका–५ सिङ्दीमा आयोजित गाउँपालिकास्तरिय दोस्रो अध्यक्ष कप फुटबल प्रतियोगिताको उद्घाटन गर्दै सञ्चारमन्त्री गुरुङले संविधानको पालना गर्ने र सार्वभौम नागरिकको अधिकारमाथि कुनै दखल नगर्ने राजनीतिक दलहरुसँग भएको सम्झौताको पूर्वराजाले उल्लङ्घन गरेको बताउनुभयो ।
“पूर्व बडामहारानीलाई नारायणहिटीमा बस्न दिने, पूर्वराजालाई नागार्जुन दरबारमा बस्न दिने, पूर्व राष्ट्रपति सरह सम्मान दिने, उहाँले संविधानको परिपालना गर्ने, सार्वभौम नागरिकको अधिकारलाई कुनै दखल नगर्ने भन्ने दलहरुसँग सम्झौता भएको थियो”, सञ्चारमन्त्री गुरुङले भन्नुभयो, “फागुन ७ गतेदेखि पूर्वराजाले त्यो सहमतिको उल्लङ्घन गर्नुभयो, लत्कार्नुभयो । त्यो हाम्रोलागि स्विकार्य छैन् ।”
केहीदिन यता पूर्वराजावादीको नाममा ब्यवस्था विरोधी, संविधान विरोधी तत्वले टाउको उठाइरहेको उहाँले बताउनुभयो । “यी सबै गतिविधि एउटा लोकतान्त्रिक सरकारको हैसियतले हामीले गर्न दिइरहेका थियौं”, उहाँले भन्नुभयो, “तर, राजावादीको नाउँमा हत्याको बाटो, हिंसाको बाटो, अराजकता र लुटपाटको बाटो रोजियो । यी सबै गतिविधिलाई सरकार टुलुटुलु हेरेर बस्न सक्दैन । चुप लागेर हातमा दही जमाएर बस्न सक्दैन । कारबाही अगाडि बढाउँछ, त्यसको सुरुवात भैसकेको छ ।”
नेपाल सरकारका प्रवक्ता समेत रहनुभएका सञ्चारमन्त्री गुरुङले यस्ता गतिविधिलाई साथ नदिन सबै नागरिकलाई आग्रह गर्नुभयो । नेपाली जनताले रगत पसिना बगाएर ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाको लागि सरकार सँधै प्रतिवद्ध रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “जसले संविधान मिच्न खोज्छ, कानुन मिच्न खोज्छ, जनताको अधिकारमाथि धावा बोल्न खोज्छ, सरकारले सख्त कारबाही गर्छ ।” उहाँले मुलुकको हित, जनताको हित, संघीय लोकतान्त्रिक शासन प्रणाली र मुलुकको सम्वृद्धिका लागि सरकार संधै लागिपर्ने बताउनुभयो ।
यसअघि सरकार अस्थिर हुँदा विकास निर्माणको गति रोकिएको, अर्थतन्त्र धरासायी भएको, उत्पादन रोकिएको, मुलुकको अधोगति भएका कारण नेपाली काँग्रेस र नेकपा (एमाले) जस्ता ठुला दल मिलेर दुइतिहाइको सरकार बन्नुपरेको प्रष्टाउनुभयो । उहाँले वर्तमान सरकार बनेपछिको आठ महिनामा समस्याको धेरै सुधार भैसकेको बताउनुभयो ।
उहाँले वर्तमान सरकारले मुलुकलाई सही बाटोमा र लोकतन्त्रलाई सुदृढ गर्नेे काम सुरु गरेको बताउनुभयो । उहाँले यही गठबन्धनको सरकार ०८४ सालसम्म कायम रहने र मुलुकको हित र विकासमा लागिरहने बताउनुभयो ।
उहाँले आगामी आर्थिक वर्षमा लमजुङका सबै ठाउँमा टेलिफोन टिप्ने, इन्टरनेट चन्ने बनाउने प्रतिबद्धता जनाउनुभयो । उहाँले जिल्लाका सबै वडा कार्यालय, विद्यालय, स्वास्थ्यचौकी, प्रहरी चौकीमा इन्टरनेटको ब्यवस्था गरि प्रविधिमैत्री शासनको सुरुवात गरिने बताउनुभयो ।
लोकदृश्य
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link