मनाङ । हिमाली जिल्ला मनाङमा किसानले स्याउ टिप्न सुरू गरेका छन् । जिल्लाको तल्लो क्षेत्रमा लगाइएका गाला, मेमा र रेड डेलिसियस प्रजातिका स्याउ टिप्न सुरू गरिएकाे हो ।
मनाङमा गाला, मेमा र रेड डेलिसियस, फुजी, किकु, रेड जोना, प्रिन्स र गोल्डेन प्रजातिका स्याउ उत्पादन हुँदै आएका छन् ।
मनाङमा लगाइएका विभिन्न प्रजातिमध्ये गाला, मेमा र रेड डेलिसियस स्याउ टिपेर बजार लगिएकाे नासों गाउँपालिका–७ ताचैका किसान सोलबहादुर गुरुङले बताए । “केही वर्षअघिदेखि लगाएका स्याउ अहिले फलेका हुन्, पाकेको छ, टिप्न थालेका छौँ”, उनले भने । टिपेका स्याउ प्याकेजिङ गरी सुरक्षितरुपमा लमजुङ सदरमुकाम बेसीसहर र पाेखरा बजारसम्म पुर्याईएकाे उनले बताए ।
त्यस्तै नासों–९ स्थित दानाक्यु एग्रो फार्ममा लगाइएको स्याउ पनि टिप्न थालिएको छ । पाँच जनाको समूहमा स्याउखेती गरेका फार्मका सञ्चालक राज गुरुङले यस समयमा पाक्ने प्रजातिको स्याउ टिप्न थालिएको बताए । उनका अनुसार स्थानीयदेखि विभिन्न प्रजातिका विकासे स्याउ अहिले टिप्ने अवस्था भएको छ ।
स्थानीय सङ्गीता गुरुङ तमुले स्याउ टिपेर प्याकेजिङको काम भइरहेको बताईन । मनाङमा उत्पादित स्याउ लमजुङ, तनहुँ, कास्की, चितवन, काठमाडौं लगायतका ठाउँमा लगिन्छ ।
सडकको अवस्था व्यवस्थित नहुँदा यहाँ उत्पादित स्याउ बजार लैजान समस्या हुने गरेकाे किसान सोलबहादुरले बताए ।
कृषि ज्ञान केन्द्र मनाङका प्रमुख राजेश्वर सिलवालले मनाङमा यसवर्ष स्याउ उत्पादन बढ्ने बताए । उन्नत प्रजाति र क्षेत्रफलसमेत विस्तार भएकाेकाे उनले बताए ।
लोकदृश्य
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
















