लमजुङ । नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दल लमजुङको पाँचौँ जिल्ला अधिवेशन स्थगित भएको छ । शनिबार अधिवेशनको उद्घाटन शत्रमा नै खुकुरी प्रहारको घटना भएपछि अधिवेशन स्थगित गरिएको हो ।
संस्थापन पक्षले जोरजबरजस्ती गर्दै इतर पक्षमाथि हतियार प्रयोग गरेर घाईते बनाएपछि उत्पन्न परिस्थितिको विश्लेषण गर्दै जेठ १० गतेसम्म अधिवेशन स्थगित गर्ने निर्णय भएको हो । शनिवार साँझ सूचना प्रकाशित गर्दै अधिवेशन स्थगित गरिएको निर्वाचन समितिका संयोजक अधिवक्ता विजय प्रकाश अधिकारीले जानकारी दिनुभयो ।
नेपाली काँग्रेसको जिल्ला कार्यालयका दुवै पक्षका नेताहरूको छलफलबाट अधिवेशन स्थगित गर्न उपयुक्त हुने निष्कर्ष आएपछि स्थागित गरिएको निर्वाचन समितिका संयोजक अधिकारीले बताउनुभयो । उहाँका अनुसार मतदाता नियमावली केन्द्रमा पठाउने र केन्द्रको निर्णयपछि अधिवेशन गर्ने भन्ने सहमति भएको छ ।
अधिवेशनबाट जिल्ला समिति, प्रदेश र केन्द्रका प्रतिनिधिसहित ८८ पदमा निर्वाचन हुने ब्यवस्था छ । तर, उम्मेदवारी दर्ता गर्ने समय छँदै घट्ना घटेपछि इतर पक्षले अधिवेशन स्थल छोडेर बहिष्कार गरेको थियो ।
पुर्णकालिन सदस्य नविकरण र अधिवेशन प्रतिनिधि छनौटमा धाँधली भएको विषय इतर पक्षले उठाएपछि संस्थापन पक्षले आक्रमण गरेको थियो । आक्रमणमा परी बेंसीसहर नगरपालिका–९ का वडाध्यक्षसमेत रहनुभएका तरुण दल क्षेत्रीय सभापति खुसीजंग गुरुङ, पार्टी जिल्ला कार्यसमिति सदस्य किशोरजंग बस्नेत, नेविसंघ केन्द्रीय सदस्य सुदीप अधिकारी, तरुण दलकै शंकर सापकोटा घाईते हुनुभएको थियो। घाइते गुरुङलाई काठमाडौं र अधिकारीको भरतपुरका अस्पतालमा उपचारका लागि रेफर गरिएको छ ।
पीडितले मध्यनेपाल नगरपालिका–७ का ३८ वर्षीय धनबहादुर तामाङ, राइनास नगरपालिका–६ का ४० वर्षीय गणेश गुरुङ, मर्स्याङ्दी गाउँपालिका–५ का ४२ वर्षीय भुपेश गुरुङलाई ज्यान मार्ने उद्योगमा जाहेरी दिएका छन् । तर, प्रहरीले भने अहिलेसम्म दर्ता गरेको छैन ।
गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री एवं काँग्रेस जिल्ला सभापति डा टकराज गुरूङ र वनमन्त्री एवं काँग्रेस पूर्व जिल्ला सभापति भेषबहादुर पौडेलको शक्ति संघर्षका कारण घटना निम्तिएको काँग्रेस कार्यकर्ताहरूले बताएका छन् ।
- Nabin Kuikelhttps://lokdrishya.com/author/newsdesk/
- Nabin Kuikelhttps://lokdrishya.com/author/newsdesk/
- Nabin Kuikelhttps://lokdrishya.com/author/newsdesk/
- Nabin Kuikelhttps://lokdrishya.com/author/newsdesk/

















