लमजुङ । प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश पाण्डेलाई गृह जिल्ला लमजुङमा स्वागत तथा सम्मान गरिएको छ । प्रेस चौतारी नेपाल लमजुङ शाखाले पाण्डेलाई मंगलबार बेसीशहरमा स्वागत तथा सम्मान गरेको हो ।
लमजुङबाट पत्रकारिता आरम्भ गर्नुभएका पाण्डे उही चैत १० देखि १२ गतेसम्म विराटनगरमा सम्पन्न १० औं महाधिवेशनबाट सर्वसम्मत अध्यक्षमा निर्वाचित हुनुभएको थियो । नवनिर्वाचित अध्यक्ष पाण्डेलाई नेकपा एमाले गण्डकी प्रदेश कमिटिका सदस्य एवं बेसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्याल र प्रेस चौतारी नेपाल लमजुङ शाखाका अध्यक्ष देवेन्द्र गुरुङ (सुरज) ले संयुक्त रुपमा सम्मान गर्नुभएको हो । कार्यक्रममा प्रेस चौतारी नेपाल केन्द्रीय निर्वाचनमा आयोगमा जनक श्रेष्ठ र अनुसासन आयोगका सदस्य अनुज अधिकारीलाई पनि सम्मान गरिएको थियो ।
सम्मान कार्यक्रममा बोल्दै नगरप्रमुख अर्यालले सामाजिक सञ्जालका माध्यमबाट समाजमा बढिरहेको अराजक गतिविधि नियन्त्रणमा मुलधारका मिडिया र पत्रकारहरु लागिपर्नुपर्नेमा जोड दिनुभयो । प्रमुख अर्यालले भन्नुभयो “सामाजिक सञ्जालमा आउने विभिन्न भ्रामक सूचनाले पत्रकारले गाली खाइरहेको मैले देखेको छु”, उहाँले भन्नुभयो, “यस्ता गलत सूचना र भ्रमहरु चिर्न मूलधारका पत्रकारहरुले भूमिका खेल्नुपर्छ ।” उहाँले पत्रकारले जे पनि लेख्छन भन्ने भ्रम समाजमा परेकाले त्यसलाई चिर्नुपर्ने उहाँले बताउनुभयो ।
प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश पाण्डेले आफू निर्वाचित हुनु अगाडिनै अघि सारेका योजनालाई पूरा गरेर देखाउने प्रतिवद्धता व्यक्त गर्नुभयो । अध्यक्ष पाण्डेले पत्रकारको हकहित र व्यवासायिकतामा जोड दिने बताउनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य कृष्ण केसी, नेकपा एमाले लमजुङका उपाध्यक्ष जितबहादुर गुरुङ, प्रेस चौतारी नेपाल लमजुङका संस्थापक अध्यक्ष शुभाष पौडेल, नेपाल पत्रकार महासंघ लमजुङका सचिव कृष्णबहादुर आले लगायतले मन्तब्य व्यक्त गर्दै पत्रकारिता क्षेत्रलाई अब्बल बनाउँदै माथि उठाउने कार्यमा नव निर्वाचित अध्यक्षको महत्वपूर्ण भूमिका हुने अपेक्षा गर्नुभयो ।
त्यसैगरी केन्द्रीय अध्यक्ष पाण्डे, आयोगका सदस्य अधिकारी र श्रेष्ठलाई लमजुङ दर्पण दैनिकले समेत सम्मान गरेको थियो । पाण्डेको सफलताले लमजुङको पत्रकारिता क्षेत्रले गौरवबोध गरेको भन्दैे निरन्तर सफलताको कामनासहित लमजुङ दर्पण दैनिकले सम्मान गरेको हो ।
- Nabin Kuikelhttps://lokdrishya.com/author/newsdesk/
- Nabin Kuikelhttps://lokdrishya.com/author/newsdesk/
- Nabin Kuikelhttps://lokdrishya.com/author/newsdesk/
- Nabin Kuikelhttps://lokdrishya.com/author/newsdesk/

















