पोखरा । गण्डकी प्रदेशसभाको दोस्रो कार्यकाल सुरू भएकाे छ । प्रदेशसभाका ज्येष्ठ सदस्य मित्रलाल बस्यालको अध्यक्षतामा पहिलो बैठक सोमबार बसेको छ । बसेको पहिलो बैठकमा सरकारले यसअघि ल्याएका दुई वटा अध्यादेश पनि टेबल भए ।
प्रदेश निजामती सेवा र स्थानीय सेवा गठन तथा सञ्चालन सम्बन्धी अध्यादेश टेबल भएको हो । सरकारले ल्याएका अध्यादेशहरु संसद बसेको पहिलो बैठकमै पेस गर्नुपर्ने कानुनी प्रावधान छ ।
तर, दोस्रो कार्यकाल सुरु भए पनि प्रदेश प्रमुख गुरुङले नयाँ सरकार गठन गर्न आह्वान नगर्दा को सत्ता, को प्रतिपक्ष यकिन भएको छैन । संसदमा सत्तापक्ष सभामुखको दायाँ र प्रतिपक्ष बायाँतर्फ बस्ने प्रचलन छ । तर, सोमबार यस्तो भएन ।
संसदको पहिलो लहरमा मन्त्रीहरु र दोस्रोमा संसदीय दलका नेता बसे । सत्ता र प्रतिपक्ष भनेर छुट्याइएन । सदनको पहिलो पंक्तिमा कानुनमन्त्री विन्दु थापा र खेलकुद मन्त्री दीपक मनाङे, दोस्रोमा दलका नेताहरु कांग्रेसबाट सुरेन्द्र पाण्डे, एमालेबाट खगराज अधिकारी र माओवादीबाट हरिबहादुर चुमान र अरुलाई छ्यासमिस राखेर सदन सञ्चालन गरिएको छ ।
सदन सञ्चालन गर्नुअघि गण्डकीमा प्रतिनिधित्व गरेका पाँच वटै दल सम्मिलित सर्वदलीय बैठक बसेको थियो । सोही अनुसार संसद व्यवस्थापन र कार्यसूची तयार गरिएको थियो ।
अहिलेसम्म प्रदेश सरकार गठनको कुनै छनक देखिएको छैन । सोमबार प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम आएको २० दिनमा संसद बैठक पनि बस्यो । प्रदेश प्रमुखले सरकार गठनका लागि संविधान अनुसार नै आह्वान हुने बताए पनि अहिलेसम्म आह्वान गरेका छैनन् ।
संविधानको धारा १६८ को उपधारा २ बमोजिम गण्डकीमा सरकार बन्ने छ । प्रदेश प्रमुख गुरुङले पनि सोही धारा अनुसार आफूले सरकार गठनको आह्वान गर्ने सुनाए । ‘हामीहरुले संविधान अनुसार नै सरकार गठन आह्वान गर्छौं । निर्वाचन परिणाम अनुसार नै सरकार गठनको प्रकृया अगाडि बढाउँछौं,’ गुरुङले भने ।
संविधानको धारा १६८ को उपधारा २ मा भनिएको छ, ‘दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्नेछ ।’-राताेपाटी
लोकदृश्य
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
















