लमजुङ । लमजुङ सदरमुकाम बेंसीसहरसहित अन्य ठुला सहरहरुमा सञ्चालन गरिएका मासु पसलमा सरसफाईका मापदण्ड पुरा नगरेको पाइएको छ । सदरमुकाम बेसीशहर, सुन्दरबजार र मध्यनेपाल नगरपालिका क्षेत्रका मासु पसल, एग्रोभेट र दाना पसलमा गरिएको अनुगमनमा अधिकांश मासु पसलमा सरसफाइका मापदण्ड पूर्ण रुपमा पालना नभएको पाइएको हो ।
खाद्य सुरक्षाको सुनिश्चितता, पशुजन्य वस्तुको गुणस्तर कायम राख्ने तथा उपभोक्तालाई स्वच्छ र सुरक्षित मासु उपलब्ध गराउने उद्देश्यले कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, गण्डकी प्रदेश र भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लमजुङको समन्वयमा संयुक्त अनुगमन गरिएको थियो । अनुगमनका क्रममा मासु काट्ने तथा राख्ने स्थान पर्याप्त सरसफाइ नभएको, मासु काट्दा मास्क र पञ्जा प्रयोग नगरेको, मासुलाई फ्रिजमा सुरक्षित रुपमा भण्डारण नगरी खुला रुपमा राखिएको तथा दैनिक धेरै बिक्री हुने मासु पसलमा विद्युत् आपूर्ति अवरुद्ध हुँदा वैकल्पिक विद्युत् प्रणालीको व्यवस्था नभएको भेटिएको कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, गण्डकी प्रदेशका पशु अधिकृत डा. विनिता कुँवरले जानकारी दिनुभयो ।
कुवंरका अनुसार अनुगमनका क्रममा व्यवसायीहरुलाई तत्काल सरसफाइमा सुधार गर्न, मासु प्रशोधन तथा भण्डारणका न्यूनतम मापदण्ड पालना गर्न, व्यक्तिगत सुरक्षाका सामग्री अनिवार्य रुपमा प्रयोग गर्न तथा उपभोक्ताको स्वास्थ्यलाई प्राथमिकतामा राखेर व्यवसाय सञ्चालन गर्न निर्देशन दिइएको छ । तोकिएका मापदण्ड पालना नगर्ने व्यवसायीमाथि आवश्यक कानुनी कारबाही गरिने चेतावनी समेत दिइएको कुवंरले बताउनुभयो ।
अनुगमनका क्रममा बेसीशहर क्षेत्रमा रहेका पाँच वटा मासु पसल तथा एक÷एक वटा एग्रोभेट र दाना पसलको निरीक्षण गरिएको थियो । त्यसै गरी सुन्दरबजारमा चारवटा मासु पसल, एक वटा एग्रोभेट र मध्यनेपालमा ४ वटा मासु पसलको अनुगमन गरिएकोमा एक एउटा पसल दर्ता विनानै संचालन गरिएको फेला परेको जिल्ला प्रशासन कार्यालय लमजुङका खरिदार दिनानाथ अधिकारीले बताउनु भयो । अधिकारीका अनुसार दर्ता विना संचालन भएको मासु पसललाई सम्बन्धित पालिकाको पशु शाखाको रोहवरमा ७ दिन भित्र दर्ता गर्न निर्देशन दिइएको छ ।
संयुक्त अनुगमन टोलीमा भेटेरीनरी अस्पताल तथा पशु कार्यालयका पशु चिकित्सक विकलचन्द्र श्रेष्ठ, मन्त्रालयका पशु विकास अधिकृत डा. सुजन थापा मगर, अधिकृत छैटौँ ऋषिराम पौडेल, बेसीशहर नगरपालिकाको पशु सेवा शाखाकी डा. अञ्जली पुलामी मगर, पत्रकार तथा सम्बन्धित निकायका प्रतिनिधिहरुको सहभागिता थियो ।
- Nabin Kuikelhttps://lokdrishya.com/author/newsdesk/
- Nabin Kuikelhttps://lokdrishya.com/author/newsdesk/
- Nabin Kuikelhttps://lokdrishya.com/author/newsdesk/
- Nabin Kuikelhttps://lokdrishya.com/author/newsdesk/
















