लमजुङ । लमजुङको दोर्दी गाउँपालिकामा खेलकुद, कृषि, पर्यटन र संस्कृतिको उजागर गर्न महोत्सव आयोजना गर्ने भएको छ । पुसको ८, ९ र १० गते प्रथम दोर्दी खेलकुद, कृषि, पर्यटन तथा सांस्कृतिक महोत्सव–२०८२ गरिने भएको हो ।
गाउँपालिकाको केन्द्र नौथर शेरास्थित खेलमैदानमा हुने महोत्सवले पर्यटन प्रवद्र्धन, स्थानीय उत्पादनको बजारीकरण, आन्तरिक व्यापार विस्तार तथा लोककला–संस्कृतिको संरक्षण गर्ने गाउँपालिका अध्यक्ष युवराज अधिकारीले बताउनुभयो । उहाँलेले भन्नुभयो, “महोत्सवले दोर्दी गाउँपालिकाको समग्र पहिचान निर्माणमा टेवा पु¥याउनेछ । महोत्सवमार्फत गाउँगाउँमा रहेका होमस्टे र पदमार्गहरूको प्रचार–प्रसार हुनेछ ।”
महोत्सवअन्तर्गत गाउँपालिका स्तरीय फुटबल प्रतियोगिता, कृषि मेला तथा प्रदर्शनी, उत्कृष्ट कृषक सम्मान, सांस्कृतिक झाँकी र लोकनृत्य, आमा समूहहरूको खुला नृत्य प्रतियोगिता, विद्यालय तथा शिक्षक सम्मानलगायत कार्यक्रम समेटिएका छन् । राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति पनि रहने आयोजकले जनाएको छ ।
प्रमुख प्रशासकीय अधिकृत हेमराज काफ्लेका अनुसार कृषि मेला तथा प्रदर्शनीमा स्थानीय कृषि उपज, नगदे बाली, पशुपालन, मौरीपालन, तरकारी, फलफूल, कृषियन्त्र र प्रविधि प्रदर्शन गरिनेछ । महोत्सवले कृषकलाई नयाँ प्रविधिबारे जानकारी दिनुका साथै स्थानीय उत्पादनको बजार विस्तारमा सहयोग पु¥याउने उहाँले बताउनुभयो । उत्कृष्ट कृषकलाई सम्मान गर्दै व्यवसायिक कृषितर्फ प्रोत्साहन गर्ने योजना रहेको उहाँले बताउनुभयो ।
रोजगार संयोजक धर्मराज गुरुङले महोत्सवले युवालाई खेलकुदतर्फ आकर्षित गर्ने, महिला समूहको सक्रियता बढाउने र स्थानीय रोजगारीका अवसर सिर्जना गर्न सहयोग पुग्ने बताउनुभयो । स्थानीय प्रतिभा पहिचान गरी जिल्लादेखि राष्ट्रिय स्तरसम्म दोर्दीलाई चिनाउने अवसर महोत्सवले दिने उहाँले बताउनुभयो । आयोजकका अनुसार महोत्सवका लागि करिब १७ लाख रुपैयाँ बजेट अनुमान गरिएको छ । गाउँपालिका, स्थानीय समुदाय र सरोकारवालाको सहकार्यमा महोत्सवलाई सफल बनाइने आयोजकले बताएको छ ।
- Nabin Kuikelhttps://lokdrishya.com/author/newsdesk/
- Nabin Kuikelhttps://lokdrishya.com/author/newsdesk/
- Nabin Kuikelhttps://lokdrishya.com/author/newsdesk/
- Nabin Kuikelhttps://lokdrishya.com/author/newsdesk/

















