लमजुङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी लमजुङले प्रत्यक्षतर्फ वरिष्ठ नेता देवप्रसाद गुरुङसहित १३ जनाको नाम सिफारिस गरेको छ । तत्कालीन माओवादी केन्द्रका महासचिव गुरुङ २०७४ र २०७९ को प्रतिनिधिसभा निर्वाचनमा लमजुङबाट उम्मेदवार हुनुहुन्थ्यो । २०७४ मा निर्वाचित उहाँ २०७९ मा भने पराजित हुनुभएको थियो ।
नेकपा केन्द्रले एउटा निर्वाचन क्षेत्रबाट एकजना महिलासहित पाँच जनाको नाम सिफारिस गर्न सर्कुलर गरे पनि सहमति गर्न नसकेपछि दर्जनभन्दा बढी नेताको नाम सिफारिस गरेको छ । बुधबार बसेको जिल्ला समितिको पूर्ण बैठकले प्रत्यक्ष उमेदवारमा १३ जना र समानुपातिकमा १५ जनाको नाम सिफारिस गरेको हो ।
नेकपा लमजुङले प्रत्यक्ष उम्मेदवारतर्फ माओवादी केन्द्रका पूर्व महासचिव एवम् पूर्व सांसद देवप्रसाद गुरुङसहित पारसमणि पौडेल, देवेन्द्र पराजुली, इजन बराल, ऋषि कट्टेल, मधु अधिकारी, उर्मिला माझी, मेखबहादुर भण्डारी, हरिजंग तामाङ, चन्द्रकान्त न्यौपाने, लिलिजङ गुरुङ र यमबहादुर गुरुङलाई सिफारिस गरेको छ ।
यसैगरी, समानुपातिकतर्फ दयासागर घिमिरे, कृष्णबहादुर सुनार, सरस्वती भट्टराई, नन्दबहादुर कुमाल, मुरारी भुजेल, हिमकुमारी सुनार, इन्दिरा पोख्रेल, सुनिल सुनार, वासुदेव मिश्र, यशोदा न्यौपाने, होमराज तामाङ, अजय तामाङ, देवबहादुर दुरा र मात्रिकाप्रसाद खनाललाई सिफारिस गरेको छ ।
नेकपा पार्टी केन्द्रको सर्कुलर अनुसार फौजदारी अभियोग नलागेको, एउटा निर्वाचन क्षेत्रबाट एक जना महिलासहित पाँच जनाको नाम सिफारिस गर्नुपर्ने छ । यसैगरी, एउटै परिवारका एकभन्दा बढी सदस्य सिफारिस नगर्ने, राजस्व नतिरेका र कालोसूचीमा परेका व्यक्ति उम्मेदवारमा अयोग्य हुने, हरेक निर्वाचन क्षेत्रबाट एक जना अनिवार्य जेनजी पुस्तालाई उम्मेदवार सिफारिस गर्नुपर्ने सर्कुलरमा उल्लेख गरिएको छ ।
पार्टी केन्द्रको सर्कुलरमा एउटा निर्वाचन क्षेत्रबाट एक जना महिलासहित पाँच जना प्रत्यक्षमा र दुई जना महिलासहित चार जना समानुपातिक उम्मेदवार छनोट गर्न भनिएको छ । आकाङ्क्षीहरु धेरै देखिएपछि बाँकी मिलाएर केन्द्रमा पठाउन लमजुङ जिल्लाबाट केन्द्रीय सदस्यमा प्रतिनिधित्व गरेका नेतृत्वलाई जिम्मा दिइएको छ । यही पुसा ११ गतेसम्म सबै निर्वाचन क्षेत्रबाट उम्मेदवार सिफारिस गरिसक्नुपर्ने सर्कुलरले भनेको पार्टीको केन्द्रीय सदस्य पारसमणि पौडेलले बताउनुभयो ।
- Nabin Kuikelhttps://lokdrishya.com/author/newsdesk/
- Nabin Kuikelhttps://lokdrishya.com/author/newsdesk/
- Nabin Kuikelhttps://lokdrishya.com/author/newsdesk/
- Nabin Kuikelhttps://lokdrishya.com/author/newsdesk/
















