लमजुङ । ५० मेगावाटको मर्स्याङ्दीबेँसी जलविद्युत आयोजनाको अति प्रभावित क्षेत्र बेसीशहर नगरपालिका–१० का बासिन्दाले आयोजना निर्माणको काम तत्काल सञ्चालन गर्नुपर्ने माग राखेका छन् ।
दिव्यज्योती हाइड्रोपावर लिमिटेडमार्फत निर्माण गर्न लागिएको यस जलविद्युत आयोजनाको काम बेसीशहरवासीको अवरोधका कारण निर्माण कार्य बन्द भएको छ । आयोजना निर्माणको काममा भएको अवरोधप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै तत्काल सञ्चालनमा ल्याउनुपर्ने मागसहित अति प्रभावित क्षेत्रका बासिन्दाले शुक्रबार प्रमुख जिल्ला अधिकारी डा. टोकराज पाण्डे र बेसीशहर नगरपालिका प्रमुख गुमानसिंह अर्यालसमक्ष ध्यानाकर्षणपत्र बुझाएका छन् ।
उक्त पत्रमा जलविद्युत आयोजनाले अति प्रभावित क्षेत्रका बासिन्दाका मुद्दालाई सम्बोधन गर्ने प्रतिबद्धता जनाएकाले आयोजना निर्माण हुने विषयमा सहमति रहेको विषय उल्लेख गरिएको छ ।

‘‘मुलुकसँगै जिल्लाको आर्थिक र समृद्धिको आधार स्तम्भ जलविद्युत आयोजना हो, यो अवरुद्ध हुनु गम्भीर विषय हो । जलविद्युत कम्पनीले अति प्रभावित क्षेत्रका बासिन्दाको माग र मुद्दालाई सम्बोधन गरी आयोजना सञ्चालन गर्ने प्रतिबद्धता गरेको छ । यो विषयमा हामी सहमत छौं । आयोजनाको काम सञ्चालन गर्न जिल्ला प्रशासन मार्फत तदारुकता जनाइदिन अनुरोध गर्दछौं ।’’ पत्रमा भनिएको छ ।
अतिप्रभावित क्षेत्रका इन्द्र घलेले आयोजना निर्वाध रुपमा सुचारु हुन दिन स्थानीय सबै एकमत रहेको बताउनुभयो । सोही क्षेत्रका बलबहादुर भण्डारीले भन्नुभयो, “मर्स्याङ्दी, ङादी, खुदीमा बनेका आयोजनाका ट्रान्समिसन लाइन हाम्रो गाउँ हुँदै आउँदा हामीले विरोध गरेनौं । हामी पीडित भएरपनि विकासलाई अवरोध गरेनौं । तर, अहिले हाम्रो ठाउँमा जलविद्युत निर्माण भएर गाउँको विकास हुन्छ कि भन्ने बेला अबरोध गरेको चित्त बुझेको छैन् । आयोजना बन्न दिन राज्यले सघाउनुपर्छ ।”
स्थानीय अगुवा भरतराज घलेले पनि आयोजना सुचारु गर्न प्रशासनले सहजीकरण गर्नुपर्ने बताउनुभयो । जलविद्युत आयोजना निर्माण कार्य सुचारु गर्ने जिल्ला प्रशासनको कदमप्रति अति प्रभावित क्षेत्रका बासिन्दा साथमा रहने उहाँले बताउनुभयो ।

बेसीशहर नगरपालिका–६, बेलौती बिसौनामा आयोजनाको जलाशय र बेसीशहर नगरपालिका–१०, सालडाँडामा विद्युत गृह रहने गरी ५० मेगावाटको आयोजना निर्माण गर्न लागिएको हो । २०७४ असोज १ मा वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन (इआइए) स्वीकृत गरेपश्चात २०७५ भदौ १० मा आयोजनाको विद्युत् खरिद बिक्री सम्झौता (पिपिए) भएको थियो ।
बेंसीसहरवासीले अवरोध गरेपछि आयोजनाको निर्माण कार्य हाल स्थगित रहेको छ । आयोजना निर्माणको विरोधमा गठित ‘मर्स्याङ्दी बचाऔं’ संघर्ष समितिको अगुवाइमा आयोजनाको स्काभेटर, ट्याक्टरलगायतका सामानको चावी खोस्नुको साथै सम्पर्क कार्यालयमा ताला लगाइएको छ ।
एक महिना यता आयोजनाको काममा अवरोध भए पनि प्रशासनले सहजीकरणका लागि कुनै अगुवाइ गरेको छैन । दुबैपक्षको ध्यानआकर्षण पत्र बुझ्ने बाहेक प्रशासनले कुनै पहलकदमी नलिएको सरोकारवालाहरुले बताएका छन् ।
- Nabin Kuikelhttps://lokdrishya.com/author/newsdesk/
- Nabin Kuikelhttps://lokdrishya.com/author/newsdesk/
- Nabin Kuikelhttps://lokdrishya.com/author/newsdesk/
- Nabin Kuikelhttps://lokdrishya.com/author/newsdesk/

















