लमजुङ । स्मार्ट भिलेज घलेगाउँमा बैशाख १ गतेदेखि स्मार्ट भिलेज आमन्त्रित सातौँ गोल्ड कप फुटबल प्रतियोगिता हुने भएको छ । ५ वर्षसम्म खुला फुटबल प्रतियोगिता आयोजना गर्दै आएका घलेगाउँबासीले गतबर्षदेखि आमन्त्रित फुटबल प्रतियोगिता सञ्चालन गर्ने गरेकाे छ ।
यसका लागि जिल्लाभित्रका ४ वटा टीम र जिल्ला बाहिरका ८ वटा चर्चित फुटबल कलबहरुलाई आमन्त्रण गरिएको छ । यो प्रतियोगितामा ‘ए’ डिभिजन खेल्ने फुटबल खेलाडीसमेत सहभागि हुन्छन् । पर्यटन व्यवस्थापन समिति, स्मार्ट भिलेज घलेगाउँले बेँसीशहरमा पत्रकार भेटघाटको आयोजना गरी आमन्त्रित स्मार्ट भिलेज गोल्ड कप फुटबल प्रतियोगितामा प्रथम हुनेलाई नगद ५ लाख ५० हजार ५ सय ५५ रुपैयाँ, गोल्ड कप र मेडल पुरस्कार राखिएको बताएको छ ।
द्वितीय हुनेलाई नगद ३ लाख ५० हजार ३ सय ५५ रुपैयाँ, कप र मेडल राखिएको मेला आयोजक समितिका संयाेजक गंगाबहादुर घलेले जानकारी दिए ।
प्रतियोगितामा सर्वाधिक गोलकर्ता र उत्कृष्ट खेलाडीलाई नगद १०-१० हजार रुपैयाँ र मेडल प्रदान गरिनेछ । प्रत्येक खेलमा उत्कृष्ट खेलाडीलाई म्यान अफ दि म्याच ट्रफी प्रदान गरिनेछ ।
यो कार्यक्रम आयोजना गर्न ३१ लाख ८० हजार ९ सय १० रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।
पर्यटन व्यवस्थापन समिति, स्मार्ट भिलेज घलेगाउँका अध्यक्ष प्रेमबहादुर घलेका अनुसार समुद्री सतहदेखि २ हजार १ सय मिटर उचाइको ग्रामीण भेगमा आयोजना गरिने फुटबल प्रतियोगिता नेपालमा सम्भवतः यो पहिलो प्रतियोगिता हो ।
घलेगाउँमा आयोजना हुने आमन्त्रित फुटबल प्रतियोगितामा भाग लिने क्लबहरुको नाम पत्रकार भेटघाटमा सार्वजनिक गरिएको छ । जसअनुसार प्रतियोगितामा जिल्ला बाहिरका टीममा भुइँखेल फुटबल क्लब काठमाडौं, अभिशेष चर्च रजहर नवलपुर, सुर्यतारा क्लब पाेखरा, नेपाल युनाइटेड तनहुँ, पिप्ले युवा क्लब हेटाैडा, गोरखा ब्वयज बुटवल क्लब (रड्स) रामपुर चितवन, देवदह नगरपालिका रूपन्देही र भरतपुर फुटबल क्लब चितवन रहेका छन् ।
यसैगरी, लमजुङका क्लबमा लालीगुराँस युवा क्लब भुजुङ, त्रिवेणी युवा क्लब बेंसीशहर, बुद्ध युथ क्लव भोटेओडार र बेंसीशहर युथ सोसाइटी शेरा रहेका छन् । नाइन ‘ए’ साइडको स्वर्गभूमि रंगाशालामा हुने प्रतियोगितामा आमन्त्रण गरिएका खेलाडीलाई खाना र वासको निःशुल्क व्यवस्थापन गरिएको छ ।
क्वहोलासोथार गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङले ग्रामीण भेगमा आयोजना हुने सर्वाधिक राशीको फुटबल प्रतियोगिताले पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्ने बताए ।
-
Nabin Kuikelhttps://lokdrishya.com/author/newsdesk/
-
Nabin Kuikelhttps://lokdrishya.com/author/newsdesk/
-
Nabin Kuikelhttps://lokdrishya.com/author/newsdesk/
-
Nabin Kuikelhttps://lokdrishya.com/author/newsdesk/