सबैलाई थाहा छ– चुनावमा न्याय र सत्यले जित्छ, अन्याय र असत्यले हार्छ भन्ने कुनै ग्यारेन्टी हुँदैन । चुनावी परिणामको आधार सत्य र असत्यबीचको लडाइँ, न्याय र अन्यायबीचको संघर्ष, ठीक र बेठीकबीचको छनोट मात्रै हैन । चुनावी परिणाम अनेक कारणले प्रभावित हुन्छ । जनसन्तुष्टि र असन्तुष्टि, आम निराशा वा खुशीलाई कुनै न कुनै रूपमा प्रकट गर्दछ ।
यसपटकको उपचुनावले पनि त्यो काम गरेकाेछ । याे देशमा कुनै दिन ढुङ्गामाटाे पनि काँग्रेस थियाे, उसले पनि पटक पटक देश चलाउने अबसर पायाे । पछि माओवादी पनि उर्लेर आयाे, सत्ता चलायाे । एमालेले पनि अबसर पायाे सत्ता चलायाे । मधेशमा जसपा जाग्याे । यी सबै पार्टी देशमा अनेक संघर्ष र आन्दाेलनबाट प्रजातन्त्र, लाेकतन्त्रहुँदै गणतन्त्रात्मक संघीय संरचना स्थापना गरि आएका पार्टी हुन । तर, पटक पटककाे सत्ता सञ्चालनकाे अबसरलाई उनीहरूले सदुपयाेग गर्न सकेनन् ।
याे अबधिमा देशमा केहिपनि नभएकाे भने हैन, तर सेवा प्रवाह, भ्रष्टाचार नियन्त्रण, देशमै उद्याेग कारखानाकाे स्थापना, राेजगारी र राष्ट्रिय उत्पादन बृद्वि गरि स्वाधीन अर्थतन्त्र निर्माणका लागि भने उनीहरू चुके । यहि कमजाेरी समात्दै अहिले रास्वपा, जनमतसहितका पार्टी उदाए । उनीहरूकाे बारम्बार एउटै भनाई छ,- सुशासन, राेजगारी, अर्थतन्त्रको सुधार, विकास र समृद्धि ।
विगतको चियामा जेरी चोपेर खान पल्केकाहरुले यो चुनावको परिणामलाई कान खोलेर सुन्न जरुरी छ । जसरी घण्टी बज्यो,यो सुदीनको सुरुवात हो कि होइन?समयले जवाफ देला । तर,आफुलाई दल र मतदाताका ठेकेदार ठान्नेहरुमाथिको बज्रपात चाहिँ पक्का हो । हिजो जनताको टाउको गनेर सत्ताको भागशान्ति गर्नेहरुकाे कानकाे जाली फुट्नेगरि घण्टी बजेकाे छ ।
यतिबेला देशकाे अर्थतन्त्र विग्रिएकाे छ । यहि समस्यालाई छेकाे पारेर स्वर्णिम वाग्लेले अर्थतन्त्र सुधारका लागि १ भाेट मलाई भनेर प्रचार गरे र जिते पनि । अन्य उमेदवार भन्दा उनी अब्बल पनि थिए, जनताले पत्याए । अब भाेलिदेखि छुमन्तर गरेर देशकाे अर्थतन्त्र सुधार हुन्छ त ?, हुँदैन । १० वर्ष मन्त्री सरहकाे सुविधा लिएर याेजना आयाेगमा बस्दा सुधार गर्न नसकेकाे अर्थतन्त्र मामुली सांसद मात्र हुँदा सुधार्न गाह्रै छ । अझ तनहुँकाे विकासकाे माेडल वा देशकै विकासकाे माेडल कस्ताे हुनुपर्छ, र उनी १० वर्ष याेजना अायाेगमा बस्दा बनाएका याेजना के थिए । त्याे १० वर्षे कार्यकालकाे याेजना कति पूरा भए र कति पूरा भएनन पक्कै समीक्षा हाेला ।
अब भने उनले रेखाङ्कन गर्ने अर्थतन्त्र सुधारकाे नक्सा पक्कैपनि छिट्टै सार्वजनिक हाेला । अनि शुरू हुनेछ देशमै राेजगारी । हिजाे उनीहरूका कारण तपाईहरू खाडीमा जानुपर्याे, आज हामी फिर्ता बाेलाउँदै छाैं आउनुहाेस भनेकाे सुन्न जनतालाई पक्कैपनि धेरै दिन कुर्नपर्ने छैन । कृषि उत्पादन र बजारीकरण, उद्योग, पर्यटनकाे पुर्वाधार विकासपनि धेरै समय कुर्न पर्ने छैन । त्यतिबेला सामाजिक सञ्जालमा मात्र हैन, देशमै स्वर्णिम युगकाे सुरूवात हुनेछ ।
नत्र, १ थान सांसदका लागि मात्र जनताले यतिविध्न माया गरेका हैनन, रास्वपाले पनि जित्नका लागि मात्रै पनि यति भनेकाे हैन हाेला । भनाई र लेखाइ जस्तै, विजयकाे खुसीकाे उन्माद त्यतिबेला परिक्षण हुनेछ, त्याे दिन कामकाे अनुभूति नागरिकले गर्नेछन् । सामाजिक सञ्जालमा मात्र हैन, मुलुकमा स्वर्णिम युगकाे शुरूवात हाेस, शुभकामना !
- Nabin Kuikelhttps://lokdrishya.com/author/newsdesk/
- Nabin Kuikelhttps://lokdrishya.com/author/newsdesk/
- Nabin Kuikelhttps://lokdrishya.com/author/newsdesk/
- Nabin Kuikelhttps://lokdrishya.com/author/newsdesk/

















