
जोमसोम : कोभिड महामारीका कारण रोकिएको मुस्ताङको बहुप्रतिष्ठित खेलकुद प्रतियोगिता थाक खेलकुद तथा च्याम्पियनसीप आगामी असोज ५ गते हुने भएको छ।
थाक खेलकुद तथा सांस्कृतिक विकास संघको शनिबार थासाङको ताक्लुङमा बसेको बैठकले यसवर्ष संघको ५० औं वर्षको स्वर्ण जयन्ती तथा खेलकुद लगायतका विभिन्न कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ। संघका अध्यक्ष चन्द्रमोहन गौचनको अध्यक्षतामा बसेको संघको बैठकले थाकखेल कार्यक्रम तथा थाकखेलकुदको ५० औं वर्ष पुगेको उपलक्ष्यमा यसवर्ष विशेष प्रकारले प्रतियोगिता आयोजना लागेको हो।
लगातार ३ वर्षसम्म कोभिड माहामारीका कारण थाकखेलकुद प्रतियोगिता हुन सकेको थिएन। मुस्ताङ जिल्लाका लागि विशेष महत्व राख्ने थाकखेलकुद कार्यक्रमले यहाँका यूवाहरूको खेलप्रतिको आर्कषण वृद्धि गर्ने, स्थानीय खेलाडीलाई उत्पादमुखी बनाएर जिल्ला, क्षेत्र र राष्ट्रिय रूपमा प्रतिनिधित्व गराउन सक्ने आधार तयार गर्ने, खेल पर्यटनको प्रर्वद्धन गर्ने र स्थानीय खेलाडी र कलाकारको क्षमता विकास गर्ने लक्ष्यसहित थाकखेलकुद तथा सांस्कृतिक विकास संघले बर्सेनि थाकखेलकुद कार्यक्रम गर्दै आईरहेको थियो।
यो प्रतियोगिताले मुस्ताङको तल्लो भेगका अन्तर क्लव र त्यसमा आवद्ध खेलाडीहरूबीचको सामिप्यता बढाउने गर्ने प्रतियोगिता आयोजना हुने गरेको छ। मुस्ताङको जोमसोमदेखि तल्लो भेगका स्थानीय ८ वटा यूवाक्लवहरूबीच मैत्रीपूर्ण थाकखेलकुद प्रतियोगिता हुँदै आईरहेको छ।
प्रतियोगितामा पुरुष तथा महिला भलिबल, मिस मुस्ताङ र गायन प्रतिस्पर्धा आयोजना हुने गरेको छ। स्वर्ण जयन्तीमा यसअघिका संघका पूर्वअध्यक्षहरूलाई सम्मान गर्ने निर्णय पनि गरिएको छ।
थाकखेलकुद थासाङ-५ ताक्लुङमा असोज ६ गतेदेखि ८ गतेसम्म सञ्चालन गर्ने तय गरिएको छ। बर्सेनि आलोपालो सञ्चालन हुने प्रतियोगिता यसपटक अन्नपूर्ण यूवाक्लवले सञ्चालन गर्नेछ भने त्यसका लागि आयोजक क्लवकै तर्फबाट क्लवका राम परियारलाई केन्द्र सचिवमा नियूक्त गरिएको छ।
संघले तोकेको केन्द्र सचिवलाई थाक खेलकुदमा आवद्ध सबै क्लवहरूले खेलाडी र कलाकारहरूको विवरण भदौ ३१ गते सम्म विवरण पेश गर्नुपर्ने जनाएको छ।
संघका सचिव दिपक लालचनले कोरोना कहरले रोकिएको थाकखेलकुद प्रतियोगिता यसवर्ष भव्यताका साथ सम्पन्न गर्ने तयारी भइरहेको बताए।
- Nabin Kuikelhttps://lokdrishya.com/author/newsdesk/
- Nabin Kuikelhttps://lokdrishya.com/author/newsdesk/
- Nabin Kuikelhttps://lokdrishya.com/author/newsdesk/
- Nabin Kuikelhttps://lokdrishya.com/author/newsdesk/
















