लमजुङ । मध्यनेपाल नगरपालिकाले आर्थिक वर्ष २०८२÷०८३ का लागि ६७ करोड ९६ लाख ८५ हजार २ सय अठ्ठाईस रुपैयाँको बजेट सार्वजनिक गरेको छ । नगर उपप्रमुख सीता गुरुङले नगरसभाको सत्रौँ अधिवेशनमा बजेट प्रस्तुत गर्दै समृद्धि, सुशासन र सामाजिक न्यायको आधारमा विकासलाई अघि बढाउने बताउनुभयो ।
बजेटमा नेपाल सरकार, गण्डकी प्रदेश सरकार तथा आन्तरिक स्रोतबाट प्राप्त रकमलाई आधार बनाइएको छ । संघीय समानीकरण अनुदानतर्फ ९ करोड ९८ लाख, प्रदेश समानीकरण अनुदानतर्फ १ करोड २४ लाख १७ हजार, संघीय राजस्व बाँडफाँडतर्फ ८ करोड २१ लाख ५३ हजार २ सय अठ्ठाईस, तथा प्रदेश सवारी करतर्फ १ करोड ४७ लाख ६५ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।
यस आर्थिक वर्षको कुल व्ययमध्ये ४४ करोड ७८ लाख रुपैयाँ चालु खर्च र २३ करोड १८ लाख ८५ हजार २ सय अठ्ठाईस रुपैयाँ पुँजीगत खर्चमा विनियोजन गरिएको छ ।
नगरपालिकाले कृषि, पशुपालन, पूर्वाधार, शिक्षा र स्वास्थ्य क्षेत्रमा प्राथमिकता दिएको छ। संघीय विशेष अनुदानअन्तर्गत गाई÷भैंसी तथा बाख्रा पालन प्रवद्र्धन गर्न १ करोड ६५ लाख विनियोजन गरिएको छ भने गण्डकी प्रदेश सरकारको नवप्रवर्तन कार्यक्रममार्फत मौरीपालन व्यवसाय विकासमा २ करोड १० लाख लगानी हुने उल्लेख गरिएको छ ।
नगरका प्रत्येक वडाका लागि ३५ लाखका दरले ३ करोड ५० लाख विनियोजन गरिएको छ। सामुदायिक विद्यालय, स्वास्थ्य संस्था, तथा विपन्न तथा गम्भीर बिरामीलाई समेत राहत दिने व्यवस्था बजेटमा गरिएको छ ।
चालु आर्थिक वर्षको समीक्षा गर्दै नगर उपप्रमुख गुरुङले ३९५ योजना स्वीकृतमध्ये २८४ योजना सम्पन्न भइसकेको जानकारी दिनुभयो । विगतका योजनाहरुमध्ये भोर्लेटार–बाङ्ग्रे–नेटा मालिका सडक, बाङ्ग्रेवेसी–निशान चौतारा सडक, चर्दिखोला मोटरेबल पुल जस्ता पूर्वाधार परियोजनाहरु सम्पन्न भइसकेका वा अन्तिम चरणमा रहेको बताइएको छ ।
कृषि यान्त्रीकरण, मौरीपालन, सिँचाइ, जनावरको नस्ल सुधार तथा पशु खोप कार्यक्रमलगायत योजनामा उल्लेखनीय प्रगति भएको नगरपालिकाले जनाएको छ ।
नगरपालिका उपप्रमुखले बजेट प्रस्तुत गर्दै आगामी वर्षलाई जनअपेक्षा अनुसार जिम्मेवारीपूर्वक अघि बढाइने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा नगर प्रमुख रमेश कुमार पाण्डे, नगरसभा सदस्य, विभिन्न वडाका प्रतिनिधि, सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।
- Nabin Kuikelhttps://lokdrishya.com/author/newsdesk/
- Nabin Kuikelhttps://lokdrishya.com/author/newsdesk/
- Nabin Kuikelhttps://lokdrishya.com/author/newsdesk/
- Nabin Kuikelhttps://lokdrishya.com/author/newsdesk/