लमजुङ । मस्र्याङ्दी गाउँपालिकाको वडा नं. २, ३ र ९ भएर बग्ने खुदीखोलामा निर्माणाधिन २६ मेगावाट क्षमताको सुपर खुदी जलविद्युत आयोजनाले प्रभावित क्षेत्रमा नसमेटेको भन्दै वडा नं. ९ का बासिन्दारु आन्दोलित भएका छन् ।
करिब ६० प्रतिशत काम सकिदापनि आयोजनाले वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन (ईआईए) मा अति प्रभावित ९ नम्बर वडालाई समावेश नगरी सञ्चालन गरेको र अहिले संस्थापक सेयर (प्रमोटर सेयर) मा समेत यस वडालाई समावेश नगरेको विषय प्रति स्थानीय आक्रोशित भएका हुन् । आयोजनाको सरोकार तथा सहयोगी समिति साथै छरछिमेक कार्यक्रममा समेत मुख्य प्रभावित यस वडाका प्रतिनिधिलाई समावेश नगराएकोमा स्थानीयको आपत्ति छ ।
आयोजनालाई ध्यानआकर्षण गराउन स्थानीयले रामबहादुर थापाको नेतृत्वमा समन्वय तथा संघर्ष समिति गठन गरेको छ । उस्तै प्रकृति र अवस्थितिका वडा नं. २ घनपोखरा र वडा नं. ३ खुदी प्रभावक्षेत्रमा समावेश गरिएको र वडा नं. ९ सिम्पानीलाई वेवास्ता गरिएको संघर्ष समितिका संयोजक राम बहादुर थापाले बताउनुभयो । “खोलामा बाढी आउँदा हाम्रै घरखेत बनाएको छ । सडक भत्काएको छ”, थापाले भन्नुभयो, “तल्लो तटिय क्षेत्रका हामीले क्षति र दुःख बेहोर्ने, लाभ भने दिन नमान्ने ? यो त अन्याय भयो भनेर आन्दोलित भयौं ।”
आफुहरुले यस विषयमा एकवर्ष देखि आवाज उठाए पनि सम्बन्धित पक्षबाट सुनुवाई नभएको वडाध्यक्ष हरिश्चन्द्र थापाले बताउनुभयो । “हाइड्रोलाई भनेपनि मान्दैन, पालिकाले पनि सहजिकरण गरिदिदैन । हामी त अन्यायमा प¥र्यौ”, वडाध्यक्ष थापाले भन्नुभयो, “सुनुवाई नभएपछि आन्दोलनसँगै उर्जा मन्त्रालयमा गुहार मागेका छौं ।”
थापाका अनुसार उर्जा मन्त्रालयको वातावरण विभागले विद्युत विकास विभागलाई स्थानीयको मागबारे ध्यानआकर्षण गराएको छ । गाउँपालिकाले समन्वय तथा सघर्ष समितिलाई साथ दिनुपर्नेमा त्यस्तो नभएको भन्दै समितिका अध्यक्ष थापाले दुःखेसो पोख्नुभयो । पूर्व वडाध्यक्ष नारायणबहादुर थापाले खुदीखोलाले सिम्पानीको तटिय क्षेत्र कटान गर्नेदेखि मठमन्दिर, अन्त्येष्टी गर्ने संरचनाहरुमा क्षति पुर्याएको तर त्यसको कुनै परवाह नगरिएको बताउनुभयो ।
मस्र्याङ्दी गाउँपालिकाका पूर्व उपाध्यक्ष होमबहादुर विकले यस विषयमा सिम्पानीबासी माथि अन्याय भएको बताउनुभयो । सरोकारावालाहरुले उठाएको मागलाई गाउँपालिकाले सकरात्मक रुपमा समन्वय गरिदिनु पर्नेमा सहयोग नगरेको उहाँले बताउनुभयो ।
स्थानीयले माग पुरा नभए काममा अबरोध गर्ने चेतावनी दिएपछि आयोजना पक्ष संवादमा आएको छ । आयोजनाका साइड इन्चार्ज कृष्णदास श्रेष्ठले वार्ताबाट समाधान निकाल्न सकरात्मक रहेको र सञ्चालकहरुले केही दिनको समय मागेको बताउनुभयो ।
रन अफ दि रिभर प्रकृतिको यो आयोजनाबाट बार्षिक १२९ दशमलव १९ गिगावाट प्रतिघण्टा विद्युत उत्पादन हुने निर्माण कम्पनी सुपर खुदी हाइड्रोपावरले जनाएको छ ।
लोकदृश्य
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link

















