
काठमाडौं । काठमाडौंको काभ्रेस्थलीमा एकै परिवारका सबै चारजना मृत भेटिएको घटना हत्यापछि आत्महत्या भएको प्रहरीले निष्कर्ष निकालेको छ ।
तारकेश्वर नगरपालिका-२ पदमसालस्थित एकतले घरमा सोमबार बिहान ४१ वर्षीय दिनेश पाण्डे, उनकी ३९ वर्षीया श्रीमती सुनिता, १३ वर्षीया छोरी आशिका र ८ वर्षीय छोरा आशिक विभत्स अवस्थामा मृत भेटिएका थिए ।
चार वर्षअघि जग्गा किनेर बनाएको उक्त घरमा पाण्डे परिवार बस्दै आएका थिए । प्रहरीका अनुसार बन्द कोठाभित्र उनिहरूको शव भेटिएको थियो । छोरा र छोरीको शव ओछ्यानमा थियो भने बाबुआमाको भुइँमा लडेको अवस्थामा ।
प्रहरीका अनुसार दिनेशले तीनजनाको हत्यापछि नाडी काट्नुका साथै झुन्डिनेसमेत प्रयास गरेको देखिएको छ । उनको पेटमा छुराको चोट पनि छ । काठमाडौं उपत्यका अनुसन्धान कार्यालयका प्रवक्ता कृष्ण कोइरालाले श्रीमती र छोराछोरीको टाउको र पेटका विभिन्न भागमा धेरैपटक छुरा प्रहार भएको बताए ।
१२ वर्ष कुवेतमा वैदेशिक रोजगारी गरेर फर्किएका दिनेशले मनोहरामा खरिद गरेको जग्गा बिक्री गरेर पदमसालमा जग्गा किन्नुका साथै त्यसमा घर पनि बनाएका थिए । गोरखा स्थायी घर भएका पाण्डे परिवारको त्यसपछि पदमसाल नयाँ घर ठेगाना बनेको थियो ।
उनले पदमसालमै मोबाइल मर्मतको पसल सञ्चालन गर्दै आएकामा एक महिनाअघि मात्र बिक्री गरेका थिए । यता श्रीमती ८ महिनादेखि फेन्सी पसल चलाउँदै आएकी थिइन् । उनी एक महिनापछि सिजनल भिसामा यूके जाने तयारीमा थिए । प्रहरीको प्रारम्भिक अनुसन्धानमा दिनेश पछिल्लो समय निकै बेचैन देखिएको पाइएको छ ।
- Nabin Kuikelhttps://lokdrishya.com/author/newsdesk/
- Nabin Kuikelhttps://lokdrishya.com/author/newsdesk/
- Nabin Kuikelhttps://lokdrishya.com/author/newsdesk/
- Nabin Kuikelhttps://lokdrishya.com/author/newsdesk/

















